किशोरीमा रक्तअल्पता हुन नदिन आइरन चक्की खुवाउने अभियान

तनहुँ किशोरीमा रक्तअल्पता हुन नदिन तनहुँको व्यास नगरपालिकाले आइरन चक्की खुवाउने अभियान शुरु गरेको छ । नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सबै विद्यालयका किशोरीलाई आइरन चक्की खुवाउने अभियान शुरु गरेको हो ।

माघको पहिलो बुधबारबाट यो अभियान शुरु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए। “किशोरीमा रक्तअल्पता हुने सम्भावना बढी भएकाले किशोरीलाई अहिल्यैदेखि नै आइरन चक्की खुवाउन शुरु गरेका हौँ”, उनले भने, “सङ्घीय सरकारले यसलाई अभियानकै रूपमा सञ्चालन गरेको छ ।”

किशोरीलाई प्रत्येक बुधबार विद्यालयमै आइरन चक्की खुवाइन्छ । त्यसका लागि स्वास्थ्य शाखाले विद्यालय नजिक रहेको स्वास्थ्य संस्थामा आइरन चक्कीको व्यवस्थापन गरेको छ । स्वास्थ्य संस्थाले विद्यालयको समन्वयमा किशोरीलाई आइरन चक्की खुवाउने व्यवस्था मिलाउनेछन् । नगरपालिकाभित्र ७५ सामुदायिक र ४३ निजी विद्यालय छन् ।

सोतीका अनुसार १० देखि १९ वर्षभित्रका किशोरी तथा युवतीलाई आइरन चक्की खुवाइनेछ । बाल्यावस्थापछि मानव शरीरमा हुने वृद्धि र विकासको दृष्टिकोणले दोस्रो महत्वपूर्ण अवधिको रूपमा लिइन्छ । किशोरावस्था भन्नाले बाल्यावस्था र वयस्क अवस्थाबीचको मानव विकासको चरणलाई जनाउँछ । विश्व स्वास्थ्य सङ्गठनले १० देखि १९ वर्षको उमेर समूहलाई किशोरावस्था भनी परिभाषित गरेको छ ।

पोषणतत्व अधिक आवश्यकता हुने भएता पनि विभिन्न कारण (सामाजिक, सांस्कृतिक, आर्थिक, जीवनस्तर परिवर्तन, मनोवैज्ञानिक आदि)ले गर्दा पोषणयुक्त खानपानमा कमी हुने हुँदा न्यून पोषणको जोखिम हुन्छ, जसमध्ये रक्तअल्पता पनि एक हो । रक्तअल्पता भनेको शरीरमा रगतको कमी भएको अवस्था हो । रक्तअल्पताका कारणहरुमध्ये आइरनको कमी एक प्रमुख कारण हो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार