बाँके निकुञ्ज क्षेत्रबाट तीन सिकारी पक्राउ

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जले एक थान भरुवा बन्दुकसहित थप ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिमाटी निवासी २६ वर्षीय खेमबहादुर थापा, २० वर्षका बीरबहादुर पुन र ३८ वर्षिय रमेश घर्ती रहेका छन्। निकुञ्जले चार दिनअघि मात्र सोही ठाउँबाट ७ थान भरुवा बन्दुकसहित ९ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो।

निकुञ्जका सूचना अधिकारी महेश न्यौपानेले सल्यानको कालिमाटीबाट थप ३ जनालाई पक्राउ गर्न सफल भएको जानकारी दिए। उनीहरुलाई पनि आवश्यक कारबाहीका लागि निकुञ्ज कार्यालयमा ल्याइएको न्यौपानेले बताए।

बाँके, दाङ र सल्यान जिल्लामा फैलिएको निकुञ्जभित्र चोरी सिकारी हुन सक्ने आशंकामा निगरानीका लागि कार्यालयले सिसि क्यामेरा जडान गरेको छ। उक्त क्यामेरामा कैद भएका तस्बिरका आधारमा निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीमेहर गणको संयुक्त टोलीले धमाधम सिकारी पक्राउ गर्न थालेको हो।

अप्रेशन ‘महाहन्ट’ अभियान अन्तर्गत सिकारीलाई पक्राउ गर्न सफल भएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाह बताउँछन्। उनी भन्छन्, ‘निकुञ्ज भित्र हुने अवैध कामको निगरानीका लागि हामीले ठाउँ–ठाउँमा सिसि क्यामेरा जडान गरेका छौं, यिनै क्यामेराले कैद गरेका तस्बिरको मद्दतले सिकारीलाई पक्राउ गर्न सहज भएको छ, अझै कति सिकारी पक्राउ पर्ने हुन्, त्यो हेर्न बाँकी नै छ।’ दुर्लभ पाटेबाघ संरक्षण गर्ने उद्देश्यले एक दशक अघि सरकारले बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरेको हो। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार