नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही वैशाख २७ गतेको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज संसदीय दलको बैठक बोलाएको छ ।

संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो २ बजे बस्ने बैठकमा प्रतिनिधिसभाको आगामी बैठकका सन्दर्भमा पार्टीको रणनीति तय गर्ने, पार्टीको निर्णयअनुसार छलफल तथा सांसद्लाई निर्देशन गर्नेलगायत विषयको कार्यसूची रहेको संसदीय दलको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभाको वैशाख २७ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेका छन् ।कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको मंगलबार बसेको बैठकले प्रधानमन्त्री ओलीको विश्वासको मतलाई असफल बनाउन निर्णय गरेको थियो ।

संसदीय दलको बैठकमा पार्टीको सो निर्णयका सम्बधमा छलफल हुने र सभापति शेरबहादुर देउवाले पछिल्ला विभिन्न राजनीतिक दलका नेतासँग भएका भेटवार्ता बारेमा समेत जानकारी गराउने जनाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनको लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् ।नागरिकखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार