दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन एमाले वरिष्ठ नेता नेपालको माग

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुङ्गा दुर्घटनाको यथार्थ पत्ता लगाउन माग गरेका छन ।

२८औं मदन–आश्रित स्मृति दिवसका अवसरमा आज वरिष्ठ नेता नेपालले मदन भण्डारी र जीवराज आश्रितको मृत्युलाई रहस्यमय भन्दै सत्य तथ्य पत्ता लगाउन माग गरेका हुन ।

वरिष्ठ नेता नेपालले विज्ञप्ती जारी गर्दै भनेका छन, ‘जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको हत्या भएको २८ वर्ष बितिसक्दा पनि घटनाको रहस्य बाहिर आउन सकेको छैन । यो घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु ।’

वरिष्ठ नेता नेपालले घटनासँग जोडिएका ब्यक्ति अमर लामाकोसमेत रहस्यमय हत्या हुनुले दासढुंगा घटनालाई झनै रहस्यमय बनाएको बताएका छन् । नेपालले कम्युनिस्ट आन्दोलनमा अविचलित रही अघि बढ्नुपर्नेमा समेत जोड दिएका छन् । उनले भण्डारीले प्रतिपादन गरेको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटोबाट भाग्ने वा विचलित हुने छुट कसैलाई नभएको जिकिर समेत गरेका छन् । नागरिक खबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार