दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामस्थित जनता माध्यमिक विद्यालयमा विद्यार्थी तथा शिक्षकको लेखन सीप, सिर्जनात्मकता र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजित ‘हस्तलेखन सुधार कार्यक्रम–२०८३’ शनिबार सम्पन्न भएको छ । विद्यालयको आयोजना तथा विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, शिक्षक र कर्मचारीको सहकार्यमा सञ्चालन गरिएको कार्यक्रममा पोखरास्थित कस्मोस एजुकेशनल ट्रेनिङ सेन्टरले प्राविधिक सहयोग गरेको विद्यालयले जनाएको छ ।

भदौ १ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रम विद्यार्थीको अक्षरलाई व्यवस्थित, स्पष्ट, आकर्षक र पढ्नयोग्य बनाउँदै लेखनप्रति रुचि विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको हो । हस्तलेखनमा शुद्धता, सौन्दर्य र अनुशासन विकास गर्नुका साथै नियमित अभ्यास गर्ने बानीको विकास गराउने लक्ष्यसमेत कार्यक्रमले लिएको आयोजकले जनाएको छ ।
विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकाससँगै शैक्षिक तथा व्यावहारिक क्षमता अभिवृद्धिमा जोड दिँदै आएको छ । सोही अभियानअन्तर्गत सञ्चालन गरिएको हस्तलेखन सुधार कार्यक्रमले विद्यार्थीको आत्मविश्वास, सिर्जनात्मकता र सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको विद्यालयले जनाएको छ ।

प्रशिक्षणका क्रममा उत्कृष्ट हस्तलेखन प्रदर्शन गर्ने ६ जना विद्यार्थी र ४ जना शिक्षकलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रमका मुख्य प्रशिक्षक सुरेश विश्वकर्माका साथै विकास शाह र देवेन्द्र शाहले प्रशिक्षण तथा सहजीकरण गरेका थिए ।

समापन कार्यक्रममा मुख्य प्रशिक्षक विश्वकर्माले प्रशिक्षणका क्रममा हासिल भएका उपलब्धि तथा हस्तलेखन सुधारको महत्वबारे मन्तव्य व्यक्त गरेका थिए । विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष एकबहादुर गर्बुजा र शिक्षक–अभिभावक संघका अध्यक्ष चित्रकुमार थापाले विद्यार्थीको शैक्षिक विकासमा शिक्षक, अभिभावक र स्वयं विद्यार्थीको भूमिकाबारे धारणा राखेका थिए ।

कार्यक्रममा ८८ जना विद्यार्थी र १५ जना शिक्षक सहभागी भएका थिए । समापनका अवसरमा विद्यालयले आगामी दिनमा पनि यस्ता शैक्षिक तथा प्रशिक्षणमूलक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतबहादुर गर्बुजाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक गुनबहादुर पुनले गर्नु भएको थियो ।













