मल्म–पाण्डबखानी–रमुवा मोटरबाटो कालोपत्रेको तयारीमा

  सुरेश छन्त्याल

सुरेश छन्त्याल

बागलुङ । बागलुङको गल्कोट नगरपालिका–स्थित हरिचौरको बसाफाँटदेखि मल्म, पाण्डबखानी र रमुवा हुँदै रणसिंहकिटेनी जोड्ने मोटरबाटो कालोपत्रेको अन्तिम चरणमा पुगेको छ । संघीय सरकारको बजेटबाट विनियोजित ३३ करोड रुपैयाँको लागतमा उक्त सडक कालोपत्रे गर्न लागिएको हो ।

कालोपत्रेका लागि आवश्यक नाली निर्माण तथा मेसिनरी वाल निर्माणको काम अन्तिम चरणमा पुगेको निर्माण व्यवसायी होम थापाले जानकारी दिनुभएको छ । उहाँका अनुसार अब छिट्टै सडक कालोपत्रेको काम अघि बढाउने तयारी भइरहेको छ ।

सडक कालोपत्रे हुने तयारीसँगै स्थानीयवासीमा केही राहतको महसुस भएको छ । तर लामो समयदेखि सडकको उचित मर्मतसम्भार हुन नसक्दा जोखिमपूर्ण यात्रा गर्नुपरेको स्थानीयवासीको गुनासो छ । सडकको दुरावस्थाका कारण हटिया बजारदेखि पाण्डबखानीसम्मको यातायात भाडासमेत महँगो भएको उनीहरूको भनाइ छ ।

यातायातको असुविधा र महँगो भाडाका कारण खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्रीसमेत महँगो मूल्यमा खरिद गर्नुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन् । नागरिकले भोग्दै आएका यी समस्याप्रति सम्बन्धित निकायले अझै पर्याप्त ध्यान दिन नसकेको उनीहरूको गुनासो छ ।

यता, यातायात भाडा महँगो भएको विषयमा चालकहरूको आफ्नै तर्क छ । पेट्रोलियम पदार्थको मूल्यमा पटक–पटक वृद्धि भइरहेकाले यातायात सञ्चालन खर्च बढेको र सोही कारण भाडा बढाउन बाध्य भएको चालकहरू बताउँछन् ।

गल्कोटका दुर्गम बस्ती जोड्ने सडक निर्माणको काम छिटो सम्पन्न गरी नियमित सञ्चालनमा ल्याइएपछि स्थानीयवासीले भोग्दै आएको यातायात समस्या कम हुने अपेक्षा गरिएको छ । सडक कालोपत्रे भएपछि दैनिक उपभोग्य वस्तुको मूल्य घट्नुका साथै दुर्गम बस्तीमा यातायातको सहज पहुँच विस्तार हुने विश्वास गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार