
बेनी । म्याग्दीको बेनी नगरपालिका–५, गाजेनस्थित ऐतिहासिक जगन्नाथ मन्दिरमा पूजा गर्ने क्रममा एक महिलाको सुनको सिक्री चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । सोमबार मन्दिरमा पूजा गर्न पुगेकी स्थानीय ५९ वर्षीया भद्रकुमारी कार्कीको घाँटीमा लगाएको करिब ३५५ लालको सुनको सिक्री हराएपछि प्राप्त सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
पक्राउ पर्नेमा बारा, बारागढी गाउँपालिका–३ खोपवाका १९ वर्षीय आकाश राय तथा पर्साको वीरगञ्ज महानगरपालिका–२० हरपतगञ्जका १९ वर्षीय लालबाबु राय, २६ वर्षीय प्रमोदकुमार राय र २४ वर्षीय सुनीलकुमार राय तथा एक नाबालक रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।
प्रहरीले उनीहरूविरुद्ध चोरीसम्बन्धी कसुरमा म्याग्दी जिल्ला अदालतबाट तीन दिनको म्याद अनुमति लिई थप अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ परेकामध्ये केही व्यक्तिविरुद्ध यसअघि अन्य जिल्लामा समेत चोरीसम्बन्धी मुद्दा चलेको खुलेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र चोरी भएको सुनको सिक्री तथा घटनामा संलग्न अन्य व्यक्तिबारे समेत प्रहरीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
गाजनेमा रहेको करिब ५०० वर्ष पुरानो ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक महत्त्वको जगन्नाथ मन्दिरमा सोमबार भव्य रथयात्रा निकालिएको थियो । याहाँ हरेक वर्ष श्रावण शुक्ल पक्ष द्वादशीका अवसरमा आयोजना हुने रथयात्रामा पूजाआजा तथा दर्शनका लागि म्याग्दीलगायत विभिन्न जिल्लाबाट आएका भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो ।





































