
भदौ ६ र ७ गते पोखरा महानगरपालिका–२७ शान्तिदीपमा दुई दिनसम्म सञ्चालन गरिएको शिविरमा सामाजिक सुरक्षा भत्ता नवीकरण, नाता प्रमाणित, व्यक्तिगत घटना दर्ता, विभिन्न सिफारिस, मालपोत तथा राजस्व र नागरिकता सिफारिसलगायत सेवा प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।

शिविरमा सामाजिक सुरक्षा भत्ता नवीकरणतर्फ २४ जना, नाता प्रमाणितमा ४ जना, पञ्जीकरणसम्बन्धी सेवामा ४ जना, विभिन्न सिफारिसमा ८ जना, मालपोत तथा राजस्वसम्बन्धी सेवामा १९ जना र नागरिकता सिफारिसमा १ जनाले सेवा लिएका थिए ।

त्यसैगरी काठमाडौंमा मंगलबार सञ्चालन गरिएको घुम्ती सेवामा रघुगंगा गाउँपालिका–८ का २ जना, वडा नं. ६ का ५ जना र वडा नं. ४ दग्नामका १० जना गरी १७ जना सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले नवीकरण तथा अद्यावधिक सेवा लिएका छन् ।

मनसुनका कारण पहिरो तथा सडक अवरोध हुँदा गाउँसम्म पुगेर सेवा लिन कठिन हुने अवस्थालाई मध्यनजर गर्दै विशेषगरी ज्येष्ठ नागरिक, अशक्त तथा गाउँबाहिर बसोबास गर्ने सेवाग्राहीलाई सहज बनाउन शिविर सञ्चालन गरिएको वडा सचिव प्रताप केसीले जानकारी दिनुभयो ।

सामाजिक सुरक्षा भत्ता नवीकरण तथा अद्यावधिकलगायतका काम भदौ मसान्तभित्रै गर्नुपर्ने भएकाले पोखरा र काठमाडौंमा बसोबास गर्दै आएका नागरिकलाई उनीहरूकै बसोबासस्थलमा सेवा उपलब्ध गराइएको वडा कार्यालयले जनाएको छ । यसबाट सेवाग्राहीको आउजाउमा लाग्ने समय तथा यातायात खर्च बचत हुनुका साथै सेवा लिन गाउँ फर्किनुपर्ने बाध्यता कम भएको लाभग्राहीले बताएका छन् ।

दग्नाम–दर्मिजा समाज पोखराका सचिव फूलबहादुर गर्बुजाले शिविर सञ्चालनका लागि आवश्यक समन्वय तथा व्यवस्थापनमा सहयोग गर्नुभएको वडा कार्यालयले जनाएको छ । उक्त शिविरमा वडाध्यक्ष गर्बुजासहित जनप्रतिनिधि र कर्मचारी खटिएका थिए ।

गाउँबाहिर बसोबास गर्ने नागरिकको संख्या बढ्दै गएको अवस्थामा स्थानीय सरकारका सेवा उनीहरू रहेकै स्थानमा पु¥याउने उद्देश्यले घुम्ती सेवा सञ्चालन गरिएको वडाध्यक्ष गर्बुजाले बताउनुभयो । नागरिकको आवश्यकता र सहभागिताका आधारमा आगामी दिनमा पोखरालगायत अन्य स्थानमा पनि यस्ता सेवा सञ्चालनलाई निरन्तरता दिने उहाँले जानकारी दिनुभयो ।















