दुर्गा देवकोटा
टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका मृतकका परिवारलाई १० हजार क्रियाखर्च उपलब्ध गराउने भएको छ ।नगरपालिकाले कोरोना महामारीले आफन्त गुमाएका परिवारलाई सान्त्वना दिन क्रियाखर्च उपलब्ध गराउने निर्णय गरेको हो ।
टीकापुरमा कोरोना महामारीको दोस्रो भेरियन्टपछि २९ जनाको मृत्यु भएको छ । महामारीकै कारण मृत्यु भएका परिवारको मनोबल बढाउनुका साथै ‘तपाईंको दुःखमा स्थानीय सरकारसँगै छ’ भन्ने आभाष दिलाउन क्रियाखर्च दिने निर्णय भएको नगरप्रमुख तपेन्द्रबहादुर रावलले बताउनुभयो ।
“अधिकांश मृतकका परिवार पनि संक्रमित छन्, परिवारका सदस्य गुमाएका उनीहरुलाई एकतिर परिवार नै संक्रमित, अर्कोतर्फ सामाजिक समस्या पनि छन्”, नगर प्रमुख रावलले भन्नुभयो, “यस्तो बेला सरकारको उपस्थिति जनाउन हामीले थोरै रकम भए पनि सहयोग गरौँ, उहाँहरुको घरदैलोमा पुगौँ भनी यो कार्य थाल्ने भएका हौँ ।”
मृतकका परिवारलाई राहत लिएर जनप्रतिनिधि र स्वास्थ्यकर्मी जाने भएका छन् । नगरपालिकाले संक्रमणका कारण मृत्यु भएका, मृत्युपछि संक्रमित भएका परिवारमा अन्य खाले स्वास्थ्य समस्या र मनोसामाजिक समस्या नहोस् भनी स्वास्थ्य परामर्शसमेत दिन थालेको छ ।
“हामीले सामान्य समस्या भएकालाई परामर्श दिन्छौँ, जटिल समस्या भएकालाई चिकित्सकको सहयोग लिएर पनि उहाँहरुको स्वास्थ्य समस्या थप नबिग्रियोस् भनी काम गर्न थालेका छौँ”, नगरपालिका जनस्वास्थ्य प्रवर्धन उपशाखाका संयोजक बलबहादुर रावलले भन्नुभयो, “यस्तो विपत्तिमा सबैभन्दा पहिले नागरिकको आत्मविश्वास बढाउने सहयोगी छन्, सरकार छ भन्ने आभाष दिलाउने कार्य भइरहेको छ ।”
नगरपालिकाले सङ्क्रमित परिवारलाई अन्य स्वास्थ्य समस्या नहोस् भनी घरदैलो कार्यक्रमसमेत थालेको छ । नगरपालिकाका स्वास्थ्यकर्मी स्वास्थ्य सामग्री र औषधिसहित संक्रमितका घरमा पुग्ने गरेका छन् ।
नगरपालिकामा रहेका कोरोना संक्रमितको स्वास्थ्य अवस्था बुझ्न र उनीहरुको सम्पर्कमा आएकालाई परीक्षणको दायरामा ल्याउन स्वास्थकर्मीहरु घरमै पुग्न थालेका हुन् । संक्रमित परिवारलाई घरमै गएर परामर्श दिने, संक्रमितसँग सम्पर्कमा रहेकाहरुलाई परीक्षणमा ल्याउने काम स्वास्थ्यकर्मीले गर्न थालेका हुन् ।
नगरपालिकाले सङ्क्रमितसँग विगत १४ दिनको दैनिकी सोधपुछ गर्ने गरेको छ । स्वास्थ्यकर्मीका साथमा जनप्रतिनिधिसमेत जान थालेका छन् ।“मास्क, सेनिटाइजर, ज्वरो नाप्ने थर्मोमिटर, फ्लोर क्लिनर, पानी शुद्धीकरण गर्ने पियुस, साबुन, ज्वरोको औषधि दिने गरेका छौँ”, जनस्वास्थ्य प्रवर्धन उपशाखाका संयोजक रावलले भन्नुभयो, “ सिआइसीटी नाम दिइएको यो कार्यक्रमअन्तर्गत संक्रमित परिवारको हालको अवस्था र परिवारको अवस्थाबारे बुझ्ने काम हुन्छ ।”
संयोजक रावलकाअनुसार संक्रमित र उनीहरुका परिवारको स्वास्थ्य अवस्था बुझ्न विभिन्न मापदण्ड रहेको फारम भर्ने कामसमेत भइरहेको छ । यसका लागि नगरपालिकाले स्वास्थ्यकर्मी र जनप्रतिनिधिको टोली परिचालन गरेको हो ।
रावलले समुदायमा संक्रमण फैलिएको भए पनि दूरी कायम गरेर स्वास्थ्यकर्मीलाई सेवामा खटाएको बताउनुभयो । “हामीले स्वास्थ्य सेवा सबै सञ्चालन गरेका छौँ, गाउँघर क्लिनिक, खोप क्लिनिक, परिवार नियोजन सेवा, आमा सुरक्षाका सबै कार्यक्रम सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो ।
हाल टीकापुरमा १ सय ४५ सक्रिय संक्रमित छन् । उनीहरु सबैको घरमा स्वास्थ्यकर्मी पुग्ने भएका छन् । यसका साथै नगरपालिकाले कोरोना पोजिटिभ देखिएकालाई टेलिफोन गरी सुरक्षित रहनसमेत आग्रह गर्ने गरेको छ ।
नगरपालिकामा दोस्रो भेरियन्टपछि हालसम्म २ सय ८८ संक्रमित भएका छन् । तीमध्ये १ सय १४ जना निको भएका छन् भने दोस्रो भेरियन्टकै कारण २९ जनाको ज्यान गएको छ ।
अक्सिजनका लागि अस्पताललाई सहयोग
कोरोना महामारी समुदायस्तरमै फैलिएपछि कैलालीको टीकापुर अस्पताललाई सबैतिरबाट अक्सिजन सहयोग हुन थालेको छ । कोरोना समुदायस्तरमै फैलिएपछि अस्पतालमा बिरामीसमेत बढेको अवस्थामा अक्सिजन जोहो गर्न अस्पताललाई समस्या भएपछि सबैतिरबाट सहयोग जुटेको हो ।
टीकापुर नगरपालिकाले अस्पताललाई ४६ थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । नगरपालिकाले अस्पतालमा कोरोनाका बिरामीको उपचारमा सहज होस् भनी १० लाखभन्दा बढी रकम खर्च गरी अक्सिजन सिलिण्डर उपलब्ध गराएको हो ।
यसका साथै अस्पताल परिसरमा निर्माण गर्ने तयारी सुरु भएको अक्सिजन प्लान्टका लागिसमेत नगरपालिकाले २० लाख रकम विनियोजन गरेको स्वास्थ्य शाखा संयोजक रावलले बताउनुभयो।
नगरपालिकाले बुधबारमात्र नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीबाट रकम सङ्कलन गरी ८० थान अक्सिजन रिफिल गरिदिएको छ । यसका साथै चार थान अक्सिजन फ्लो मिटर अस्पताललाई हस्तान्तरण गरेको छ ।
महामारी नियन्त्रणका लागि सहयोग होस् भनी जनप्रतिनिधि तथा कर्मचारीले केही दिनको तलब कट्टा गरी अस्पतालमा भर्ना भएका बिरामीका लागि अक्सिजन जोहो गरिदिएको अस्पताल विकास समितिका अध्यक्ष दीपकबहादुर रावलले बताउनुभयो ।
“यो सङ्कटको समयमा स्थानीय सरकार, कर्मचारी, सङ्घसंस्था, नागरिक सबैले सहयोग जुटाउन थाल्नुभएको छ”, अध्यक्ष रावलले भन्नुभयो, “यसबाट हामीलाई उपचार सेवा दिन र नागरिकको ज्यान बचाउन सहयोग पुगेको छ ।”
टीकापुर अस्पतालमा ४३ जना बिरामी उपचाररत छन् । वैशाख महिनायता अस्पतालबाट ८० जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ३५ जनाले ज्यान गुमाएका छन् ।
अस्पतालमा टीकापुर, लम्कीचुहा, भजनी नगरपालिका, जानकी, बर्दगोरिया, जोशीपुर, मोहन्याल गाउँपालिका र बर्दियाको राजापुर नगरपालिकाका बिरामी उपचार सेवा लिन आउने गर्दछन् । अस्पतालले सात थान भेन्टिलेटर जडान गरिसकेको छ ।
यहाँका स्थानीय तहले खर्च बेहोर्ने सहमतिपछि एनेस्थेसिया चिकित्सकका लागि अस्पतालले दरखास्त आह्वान गरेको छ । चिकित्सक भएमा अस्पतालमै आइसियु सेवा सञ्चालन हुने र बिरामीलाई राहत हुने अस्पतालका निमित्त प्रमुख डा.रेमकुमार राई बताउनुहुन्छ ।
“दरखास्त आह्वान भएको छ । चिकित्सक भएमा जटिल समस्या भएका बिरामीको पनि यहीँ उपचार गर्न सकिन्छ”, डा.राई भन्नुहुन्छ, “अन्य सबै व्यवस्थापन भइसकेको छ । एनेस्थेसिया चिकित्सक आएमा तत्काल आइसियु सेवा सञ्चालन गर्न सक्छौँ ।”रासस