पोखरा । राष्ट्रिय युवा संघका केन्द्रीय सचिव तथा गण्डकी कमिटीका अध्यक्ष महेन्द्र गुरुङको पहलमा स्वास्थ्य सामग्री वितरण गरिएको छ । कोरोना महामारीमा सहयोग पुग्ने विश्वासका साथ अध्यक्ष गुरुङको पहलमा ५० अक्सिजन सिलिण्डर वितरण गरिएको हो ।
गुरुङले अक्सिजनको जोहो काठमाडौं गएर गरेका थिए । ३७ वटा अक्सिजन सिलिन्डर विभिन्न पेशा व्यवसायमा आवद्ध युवा संघका कार्यकर्ताबाट प्राप्त भएको थियो । १३ वटा उहाँले आफ्नै खर्चमा जुटाउनुभयो । यसरी संकलन गरेको ५० वटा सिलिन्डर युवा संघ गण्डकीले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई हस्तान्तरण गरेको छ ।
बिहीबार अस्पतालमा एक कार्यक्रमका माझ युवासंघले अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर, २ कार्टुन सर्जिकल मास्क र २ कार्टुन स्यानिटाइजर सहयोग गरेको हो । करिब १० लाख रुपैयाँ बराबरको सामान रहेको युवा संघका पदाधिकारीले बताउनुभयो ।
युवा संघका केन्द्रीय अध्यक्ष किरण पौडेल, गण्डकी अध्यक्ष महेन्द्र गुरुङ, गण्डकी प्रदेश सभा सदस्य राजीव पहारी, कृष्णबहादुर थापा, मानबहादुर गुरुङ लगायतको उपस्थितिमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
सहयोग सामग्री लिँदै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर डुकबहादुर क्षेत्रीले अक्सिजनलाई स्टकमा राखिने बताउनुभयो । ‘स्टकमा राख्छौं, यहाँको सप्लाई कट अफm भएपछि इमरजेन्सिमा प्रयोग गर्छौं,’ उहाँले भन्नुभयो ।
युवा संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले युवा संघ जिम्मेवार संस्था भएकाले स्वयंसेवकीय भूमिका खेलेको बताउनुभयो । कोभिड रोकथामका लागि संगठन व्यापक रुपमा परिचालित भएको उहाँले जोड्नुभयो ।
‘भ्याक्सिजन भोलुन्टिएर बनाएर राखेका छौं, चाहिएको अवस्थामा एक साथ परिचालित हुन्छौं,’ उहाँले भन्नुभयो । युवा संघका गण्डकी अध्यक्ष महेन्द्र गुरुङले अक्सिजनले अस्पतालमा उपचारलाई सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो । आफूहरुले कासकीका ४ गाउँपालिकालाई १२ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको उहाँले बताउनुभयो । नागरिक खबरबाट