प्रदेश २ को संसद बैठक विपक्षी दलद्वारा अवरुद्ध

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक विपक्षी दलले अवरुद्ध गरेका छन् । प्रदेशसभाको बजेट अधिवेशनको दोस्रो बैठक मंगलबार विपक्षी दलले अवरुद्ध गरेका हुन् । विपक्षी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले स्थानीय तहमा जाने सशर्त अनुदान मनोमानी तरिकाले छनौट गरेको भन्दै बैठक अवरुद्व गरेका हुन् ।

बैठक प्रारम्भ हुनासाथ नेकपा एमालेका सांसद सुन्दरबहादुर विकले सांसदको सिफारिस र परामर्शमा सशर्त अनुदान स्थानीय तहमा पठाउनुपर्नेमा मनोमानी तरिकाले पठाइएको बताउनुभयो । उनले यो निर्णय नसच्याएसम्म बैठक अवरुद्ध रहने बताउनुभयो । कांग्रेस सांसद वीरेन्द्रकुमार सिंहले मनोमानी तरिकाले सशर्त अनुदानको योजना छनौट गरेको भन्दै नसच्याएसम्म बैठक अवरुद्व गरिरहने बताउनुभयो । नेकपा माओवादी केन्द्रका सांसद रामकुमार यादवले पनि यसलाई सच्याउनुपर्ने बताउनुभयो ।

बैठक सुचारु राख्न सभामुख सरोजकुमार यादवले आग्रह गरे पनि नेकपा एमालेका संसदीय दलका नेता शत्रुधन महतोले कम्तीमा यसको जवाफ मुख्यमन्त्रीले नदिएसम्म बैठक चल्न नदिने बताउनुभयो । विपक्षी दल नमानेपछि सभामुखले एक घण्टाका लागि बैठक स्थगित गर्नुभएको छ । प्रदेशमा पछिल्लो पटक कांग्रेस र माओवादीलाई पनि सरकारमा ल्याउने तयारी गरिएको छ । तर सशर्त अनुदानको योजनालाई लिएर विवाद देखिएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार