सहकारीको ५ करोड बढी हिनामिना गरेको आरोपमा गाउँपालिका अध्यक्षसहित २५ जनाविरूद्ध मुद्दा

दाङ । पाँच करोड बढी आर्थिक हिनामिना गरेको आरोपमा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २५ जनाविरूद्ध मुद्दा परेको छ।राप्ती गाउँपालिका वडा नं. ८ स्थित देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरूले पाँच करोड बढी रकम हिनामिना गरेको भन्दै कर्मचारी र पदाधिकारीविरूद्ध दाङ देउखुरी जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्।

उक्त मुद्दा मंगलबार दर्ता भएको थियो। उजुरीपछि सहकारी संस्थाका सह–लेखापाल २९ वर्षीय विक्रम राना, उनकी २७ वर्षीया श्रीमती उषा राना थापा, ऋण फाँटका प्रमुख ३३ वर्षीय प्रताप चौधरी, ऋण फिल्ड सहायक ३६ वर्षीय मणिराम भण्डारी र लेखापाल ३७ वर्षीय विकास न्यौपाने पक्राउ परेका छन्।

सहलेखापालकी श्रीमती हुनुको नाताले उषा राना थापालाई अन्य शीर्षकमा पक्राउ गरिएको छ। रकम हिनामिना गर्ने मुख्य व्यक्तिमध्ये सह लेखापाल राना देखिएको हुँदा मिलेमतोको आशंकामा श्रीमतीलाई पनि पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ।

जिल्ला अदालतका सूचना अधिकारी धनसिंह गिरीले पक्राउ परेकाहरूको बयान बुधबारदेखि सुरू भएको बताउनुभयो। बुधबार दुई जनाको बयान सकिएको र बिहीबारदेखि अन्यको बयान सुरू भएको जिल्ला अदालतका स्रेस्तेदार गिरीले जानकारी दिए। शुक्रबारदेखि थुनछेक बहस सुरू हुने गिरीले बताउनुभयो।

सहकारी संस्थामा आबद्ध राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी फरारको सूचीमा राखिएका छन्। सुवेदी सहकारीका लेखा सुपरीवेक्षण समिति अन्तरगत रहेको हुँदा उनीविरूद्ध पनि मुद्दा परेको हो। सुवेदी सहकारी मर्ज हुनुभन्दा पहिलेदेखि २०७१ सालदेखि सुपरीवेक्षण समितिमा रहँदै आएका थिए।

कमला पौडेल, युवराज भुसाल, राम पोखरेललगायत सहकारी संस्थाका पदाधिकारी, लेखा परीक्षक, सञ्चालक समितिका पदाधिकारीसहित २५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको छ।

पक्राउ नपरेका २० जना फरार सूचीमा राखिएको अदालतका सूचना अधिकारी गिरीले जानकारी दिए। फरारहरूको हकमा अदालतले छिट्टै पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको छ।

‘गाउँपालिकाका अध्यक्ष फरार सूचीमा हुनुहुन्छ,’ स्रेस्तेदार गिरीले भन्नुभयो, ‘अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उहाँहरू आफैं हाजिर हुन आउनु हुन्छ कि प्रहरीले पक्राउ गरेर ल्याउँछ त्यो हेर्न बाँकी छ।’

जिल्ला प्रहरी प्रवक्ता मुकुन्द रिजालले प्रतिवादीहरू आफैं अदालतमा हाजिर हुन नआए पक्राउ गरेर ल्याइने जानकारी दिनुभयो। केही समय पहिले मात्रै चार वटा सहकारी मिलाएर देउखुरी बचत तथा ऋण सहकारी संस्थाको निर्माण गरिएको थियो।

अदालतले बोलाए उपस्थित हुन्छु: अध्यक्ष सुवेदी

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले आफूविरूद्ध पनि मुद्दा परेकोबारे थाहा भएकी जानकारी दिए।

‘म पहिला सहकारीको संस्थापक हुने बेलामा लेखा समितिको प्रमुख थिएँ र अरू साथीहरू पनि हुनुहुन्थ्यो,’ अध्यक्ष सुवेदीले भने, ‘पहिलेका विभिन्न चार वटा जति छरिएर रहेका सहकारी मिलाएर एउटै सहकारी बनाएपछि मैले समय दिन पाइनँ र त्यसपछि कर्मचारीको मिलेमतोमा बदमासी भएको देखिन आएको छ।’

उनले अदालतले बोलाउना साथ आफैं उपस्थित हुने स्पष्ट पारे। भने, ‘प्रहरी प्रशासन र न्यायालयप्रति मेरो उच्च सम्मान छ, बोलाउना साथ म आफैं उपस्थित हुनेछु।’

बदमासी जसले गरेको भए पनि संस्थापकको नाताले आफूलगायत अन्य धेरै निर्दोष साथीका नाममा पनि मुद्दा परेको भन्ने आफूले सुनेको भए पनि त्यसलाई सहजरूपमा लिने उनले बताए।

‘गल्ती गरेको भए पो डराउनु,’ अध्यक्ष सुवेदीले भने, ‘सहकारीको अनियमितता बारेको अनुसन्धानमा म सतप्रतिशत सघाउने छु।’न्यायालयमा उपस्थित भएर आफूले सत्यतथ्य जानकारी दिने र दोषी जो कोही भए पनि कानुनी कारबाहीका लागि सघाउने अध्यक्ष सुवेदीले स्पष्ट पारे। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार