सुन तस्करीको आरोपमा दुई भारतीय नागरिकविरूद्ध १८ करोड बिगोको मुद्दा दायर

काठमाडौं । सुन तस्करीको आरोपमा राजश्व अनुसन्धान विभागले दुई जना भारतीय नागरिकविरूद्ध मुद्दा दायर गरेको छ। विभागले सिंहपुर रक्सौल पूर्वी चम्पारण घर भई वीरगञ्ज महानगरपालिका बसोबास गरिरहेका अशोककुमार सिन्हा र निवेदिता सिन्हाविरूद्ध बुधबार उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको हो।

उनीहरूसँग १८ करोड ६५ लाख दुई हजार ७०६ रूपैयाँ बिगो, जरिवाना र कैद सजाय मागदाबी लिइएको विभागका महानिर्देशक रामप्रसाद आचार्यले बताउनुभयो। उनीहरू बाबुछोरी हुन्। दुबै वीरगञ्ज महानगरपालिका-५ रेशमकोठीस्थित श्री गणेश अपार्टमेन्टमा बसोबास गरिरहेका थिए । उनीहरूले २२ हजार ९५७.४८ ग्राम सुन र १ हजार ७८ ग्राम चाँदीका गरगहना तस्करी गरेको विभागको दाबी छ।

गणेश अपार्टमेन्टको फ्लाट नम्बर ३०३ बाट पर्सा प्रहरीले गत कात्तिकमा २३ किलो सुन बरामद गरेको थियो। प्रहरीले सुन बरामद गरेपछि सोही फ्लाटमा बस्ने सिन्हा बाबुछोरी अनुसन्धानमा तानिएका थिए।

उनीहरूलाई राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ऐन) २०५२ को दफा ३, सोही ऐनको दफा ४ को खण्ड (क), (ख) र (झ) बमोजिम मुद्दा दायर गरिएको आचार्यले बताउनुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार