महोत्तरीमा ५ बर्षीय बालकको शव फेला, बाबुआमा पक्राउ

जनकपुरधाम । महोत्तरीमा बुधबारदेखि हराइरहेका एक जना बालकको शव फेला परेको छ । जिल्लाको रामगोपालपुर नगरपालिका– ६ बिसमपुर बस्ने चन्द्रकिशोर यादवका ५ बर्षीय छोरा रितेशको शव फेला परेको प्रहरीले जनाएको छ ।

बुधबार साँझ घरबाट हराइरहेका बालकको शव घरदेखि ४० मिटर पश्चिम चनु साहको बगैंचामा परालको थुप्रो नजिक बिहीबार दिउँसो फेला परेको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिनुभयो । बालकको घाँटीमा सानो दाग देखिएको र शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

बुवा र सौतेनी आमा पक्राउ

स्थानीयलाई उधृत गर्दै प्रहरीले जानकारी दिए अनुसार बालक आफ्ना सौतेनी आमासँगै बुधबार साँझ निस्केका थिए । तर, राति अबेरसम्म घर नआउँदा बालकको खोजी शुरु भएको थियो । खोजी गर्ने क्रममा बालकको शव फेला परेको डीएसपी विष्टले बताउनुभयो ।

बालकको शव देखिएपछि उनका बुवा र सौतेनी आमा समेत फरार भएका थिए । उनीहरुलाई भने बिहीबार साँझ पक्राउ गरिएको डीएसपी विष्टले बताउनुभयो । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ल्याउने काम भइरहेको बताउँदै उनले घटनाको बिषयमा थप अनुसन्धान भइरहेको बताउनुभयो ।

बालकका आफ्नी आमा केही दिन अगाडि घरबाट भागेपछि उनका बुवाले दोस्रो विवाह गरेको स्थानीयलाई उधृत गर्दै प्रहरीले जनाएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार