प्रहरी प्रधान कार्यालयबाटै प्रश्नपत्र चोरी

काठमाडौं । प्रहरी प्रधान कार्यालयबाटै प्रश्नपत्र चोरी भएको घटना सार्वजनिक भएको छ । युएन मिसनको परीक्षाका लागि तयार पारिएको प्रश्नपत्र चोरी भएको हो । प्रहरी प्रधान कार्यालयको युन शाखाले लिएको युएन शान्ति मिसनको परीक्षाको प्रश्नपत्र बाहिरिएपछि प्रहरीको सुरक्षा संयन्त्रमाथि नै प्रश्न उठेको छ ।

गत शुक्रबार र शनिवार दुई चरणमा परीक्षा लिन लागिएको थियो । प्रहरी जवानदेखि एसएसपीसम्मको परीक्षा लिइएको थियो । शनिवार बिहान लिन लागिएको परीक्षाअगावै प्रश्नपत्र बाहिरिएको हो ।

प्रश्नपत्र चोरी भएर लिक भएको थाहा पाएलगत्तै अपराध अनुसन्धान विभागले परीक्षा रद्द गरेर नयाँ प्रश्नपत्र बनाई परीक्षा लिएको थियो । युएन मिसनका लागि २३ सय जना परीक्षार्थी सहभागी थिए ।

परीक्षाअगावै प्रश्नपत्र लिक भएको थाहा पाएलगत्तै नयाँ प्रश्नपत्र बनाएर परीक्षा लिएको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिनुभयो । युएन शाखामा कार्यरत कार्यालय सहयोगीले प्रश्नपत्र निकालेको थाहा भएको स्रोतको भनाइ छ ।

सो घटनालगत्तै प्रधान कार्यालयले छानविन समिति गठन गरेको छ । प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाको नेतृत्वमा छानविन समिति बनाएको छ । मंगलबार गठित छानविन समितिमा एसएसपी, एसपी, डिएसपी र इन्सपेक्टर सदस्य छन् । प्रश्नपत्र चोरीका विषयमा छानविन थालिसकिएको डीआइजी लामाले बताउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार