नक्कली नागरिकता बनाएर मिर्गौला तस्करी गर्ने ३ जना पक्राउ

काठमाडौं । प्रहरीको एक साता लामो सक्रियतापछि नक्कली नागरिकता बनाएर मिर्गौला तस्करी गर्ने काभ्रेका तीन तस्कर शुक्रबार राति पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाले पीडितको जाहेरीका आधारमा मिर्गौला तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

उहाँले आरोपितमध्ये फरार रहेकाको खोजी कार्य जारी रहेको बताउनुभयो । पक्राउ पर्नेमा भुम्लु गाउँपालिका–८ घर भएका ३५ वर्षीय राजकुमार भन्ने कुमार परियार, उनकै भाइ ३३ वर्षीय देवराज भनिने सुरेश परियार र साविक देवभूमि बालुवा गाविस हाल पाँचखाल नगरपालिका–१० घर भएका ३१ वर्षीय राजकुमार भनिने कुमार परियार रहेका छन् । पक्राउ परेका तीनै जना नातेदार हुन् । कुमार र सुरेश दाजुभाइ हुन् भने अर्का कुमार सुरेशको साढुभाइ हुन् ।

सुरेशको श्रीमती मन्दिरा कटुवालको ब्लड क्यान्सरबाट २०७८ जेठ १३ गते निधन भएपछि बीमाबापतको रकम लिन बनेपा आएका सुरेशलाई प्रहरीले पक्राउ गरेको हो । उनीमार्फत उनकै दाजु कुमारलाई बनेपाबाट र साढुभाइ कुमारलाई पाँचखालबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका मिर्गौला तस्करहरूले हरेक साता आफूहरूले नेपालीलाई नक्कली नागरिकता उपलब्ध गराउँदै भारतका विभिन्न अस्पतालमा मिर्गौला बिक्रीका लागि लाने गरेको बताएका छन् ।

बनेपा नगरपालिका–५ का वडाध्यक्ष बलराम अधिकारीलाई सोही वडाका पीडित २८ वर्षीय एक युवकले आफ्नो मिर्गौला तस्करहरुले बिक्री गराएको जानकारी गराएपछि प्रहरीले उक्त घटनामा संलग्नहरूको खोजी शुरु गरेको हो । समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार