एसिड बेच्ने व्यापारीले सफाई पाएपछि अदालत पुगेकी आरती पक्राउ

जनकपुरधाम । अवैध रूपमा एसिड बेच्ने व्यापारीलाई अदालतले सफाई दिएको भन्दै अदातल परिसरमा आक्रोश पोख्न पुगेकी एसिड पीडित आरती साहलाई प्रहरीले पक्राउ गरेको छ।

अनुमती बिनै किराना पसलमा राखेर एसिड बेच्ने नागेन्द्र साहलाई उन्मुक्ति दिएर अदालतले आफूमाथि अन्याय गरेको भन्दै मंगलबार दिउँसो उनी धनुषा जिल्ला अदालत पुगेकी थिइन्।

त्यहाँ उनले वकिल तथा न्यायाधीसविरुद्ध बोल्दै हो–हल्ला गरेपछि उनी र उनका भाइ राजालाई प्रहरीले पक्राउ गरेको हो। न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले सोमबार आरतीका श्रीमान् जनकपुरधाम उपमहानगरपालिका–२० बस्ने सञ्जिब साहलाई कसुर गरेको ठहर गरेको थियो। तर एसिड बिक्रेता निखिल स्टोर्स किराना पसलका संचालक नागेन्द्रलाई सफाइ दिएको थियो।

‘अदालतमा भएको फैसलामा चित्त नबुझे पुनरावेदन जानुपर्यो नि तर श्रीमान् (न्यायाधीश) लाई गाली(बेज्जती गरेपछि सोधपुछका लागि ल्याएका छौँ,’ धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले भने। अहिले दुबैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

एसिड बेच्ने अनुमतीपत्र नहुँदा समेत नागेन्द्रलाई न्यायधीश र वकिलले आर्थिक लेनदेन गरि सफाई दिएको आरतीको आरोप छ। ‘करिब तीन महिना पहिले नागेन्द्रले मकहाँ आफ्नो मान्छेलाई पठाएर ५ लाख लिन्छौँ कि १० लाख, म दिन्छु तर तिमी मेरो नाम अदालतमा नलिनु भनेका थिए। तर मैले मानिन्,’ आरतीले आक्रोश पोख्दै सुनाइन्, ‘पैसा हुँदैमा दोषी छुटिहाल्छरु उसलाई सजाय भएको भए अरु कसैले यसरी एसिड किनेर छ्याप्ने हिम्मत गर्दैनथे।’

नागेन्द्र समेत दोषी रहेको दाबी गर्दै आरतीले लडाइँ जारी राख्ने बताइन्। फैसला सुनाउने दिन बहसमा आफूलाई जानकारी नगराइएको आरतीको भनाइ छ।

‘आज बिहान १० बजे रेडियोमा समाचार सुनेर मैले फैसला आएको थाहा पाएँ। मलाई कसैले किन बोलाएन ? ,’ उनले प्रश्न गरिन् । यद्दपी अधिवक्ता रिंकु कुमारी यादवले आरतीको बुवाको मोबाइलमा फोन गर्दा सम्पर्क हुन नसकेको बताइन्।

सञ्जिबले जनकपुरधाम उपमहानगरपालिका–४ स्थित स्थानीय नागेन्द्रले सञ्चालन गरेको निखिल स्टोर्सबाट एसिड खरिद गरेको दुबै जनाले बयान दिएका थिए। प्रहरीले छापा मार्दा उनको पसलबाट बियरको बोतलमा राखेर कार्टुनमा प्याक गरिएको ४८ बोतल र खोलिएको काटुर्नबाट १० वटा गरी ५८ बोतलमा साढे ४३ लिटर एसिड बरामद भएको थियो।

तैपनि अदालतले एसिड व्यापारी नागेन्द्रलाई सफाइ दिएको छ। कसुर ठहर गरिएका सञ्जिबलाई तोकिने कैद सजाय र क्षतिपूर्तिका लागि वादी र प्रतिवादी दुबैतर्फका वकिलले प्रस्तुत गर्ने प्रतिवेदनमाथि बहसपछि फैसला हुनेछ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार