लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्धारा राजीनामा दिने तयारी

बुटवल । प्रदेशसभामा अल्पमतमा परेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने तयारी गरेका छन् । बुधबार बिहान लुम्बिनी एमाले संसदीय दलको बैठकपछि पोखरेलले राजीनामा दिन लागेको उनी निकट श्रोतले जानकारी दिएको छ ।

मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि आज छलफल र निर्णय हुने कार्यतालिका थियो । अहिलेसम्मको गणितमा विपक्षी गठवन्धनसँग बहुमत देखिएपछि पोखरेलले राजीनामाको विकल्प रोजेका हुन् ।

मंगलबार अवेर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका लुम्बिनीका जसपा सांसद सन्तोष कुमार पाण्डेले मन्त्रीबाट राजीनामा दिएपछि मुख्यमन्त्री थप अप्ठेरोमा परेका हुन् ।

परिस्थितिमा नाटकीय फेरबदल नभए माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी नयाँ मुख्यमन्त्री चयन हुन सक्नेछन् । विपक्षी गठवन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।

प्रदेशसभामा हाल ८० जना सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ । तर सत्तारुढ दल एमालेसँग अहिले ३८ सांसद मात्रै छन् । विपक्षी गठवन्धनसँग कांग्रेसका १९, मामाओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार