मोटरसाइकलसहित भिरबाट खसेर एक जनाको मृत्यु

ओखलढुंगा । ओखलढुङ्गामा मोटरसाइकलसहित भिरबाट खसेर एक जनाको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका–७ बिगुटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का युवक समान्य घाइते भएका छन् ।

मंगलबार राति बिगुटार–रामपुर सडकखण्ड अन्तर्गत फन्पुमा लु ६५प ८०७० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोलुखुम्बुको सोलु दुधकुन्ड नगरपालिका–१ का २८ वर्षीय नुरु छिरिङ शेर्पाको मृत्यु भएको हो ।

मध्यरात मादक पदार्थ खोजी गर्न निस्केका उनीहरु दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रोहितकुमार शर्माले जानकारी दिनुभयो ।सोलुखुम्बुबाट साथीको घरमा आएका उनीहरुले राति अबेरसम्म मादक पदार्थ सेवन गरेको र अपुग भएपछि रामपुरतर्फ मादक पदार्थ खोजी गर्न जाने क्रममा दुर्घटनामा परेको प्रहरी निरीक्षक शर्माको भनाइ छ ।

प्रहरीका अनुसार कच्ची तथा हिलाम्मे बाटोमा बिना हेलमेट हिँडेका उनीहरु फन्पुमा पुगेपछि बाइक चिप्लिएको र पछाडि बसेका साथी सडकमै खसेका थिए । तर मोटरसाइकल चालक शेर्पा भने मोटरसाइकलसहित करिब ३ सय मिटर तल भिरबाट खसेको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो।

मृतक शेर्पाको शवलाई बुधबार दिउँसो ईलाका प्रहरी कार्यालय रामपुरबाट खटेको प्रहरी टोलीले डोरी लगाएर निकालेका थिए । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार