
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बूढानीलकण्ठमा जारी छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा ३ बजेदेखि सुरु भएको बैठक स्थलमा कडाइ गरिएको छ । बैठकमा सहभागीलाई कालो मास्क समेत निषेध गरिएको छ । बैठक स्थलमा कालो मास्क लगाएर गएकाहरुलाई पनि रोक लगाइएको हो ।
तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि कार्यक्रम स्थलमा कालो मास्क लगाएकाहरुलाई निषेध गर्ने गरेको थियो । उक्त कार्यको आलोचना समेत भएको थियो । नेपाली कांगेसले पनि ओलीको सिको गरेको पाइएको छ ।
समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीलाई देउवा लगायतको फोटो मोबाइलबाट खिच्न समेत रोक लगाइएको छ । कालो मास्क लगाउनेलाई गेट मै रोकिएको छ । पत्रकारहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालाको जस्तै झझल्को काँग्रेस बैठकमा देखिएको टिप्पणी समेत गरेका छन् ।
ओलीको कार्यक्रममा कालो मास्क प्रतिबन्ध लगाउने गरिएपछि त्यसको विरोध भएको थियो । त्यही शैली काँग्रेसको बैठकमा पनि देखिएको भन्दै केहि पत्रकारहरले ओलीको शैली भन्दै टिप्पणी गरेका हुन् ।
काँग्रेस बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदन पेश गरेका छन् । यस्तै काँग्रेस निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले महाधिवेशनका लागि आवश्यक निर्वाचन निर्देशिका पनि प्रस्तुत गरेका छन् । नागरिक खबरबाट