बाराको आधाभार जंगलमा ट्रकको ठक्करबाट एक हात्ती घाइते

वीरगञ्ज । बारामा कन्टेनर बोकेको ट्रकको ठक्करबाट पर्सा राष्ट्रिय निकुञ्जको एउटा हात्ती घाइते भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका-२१ आधाभार जंगलमा बिहीबार राति ८:५० बजे मेनकाकलीलाई ट्रकले ठक्कर दिएको हो । मेनकाकली ६५ वर्षकी भइसकेकी छिन् ।

ना ५ ख ३५५७ नम्बरको ट्रकको ठक्करबाट हात्तीको माहुते ३२ वर्षीय पवन सिंह पनि घाइते भएका छन् । उनलाई सिमराको अल्पाईन अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको छ ।

घाईते हात्ती पछि आफैं उठेर हात्तीसारतिर गएको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिनुभयो। ‘पानी परेको समयमा राति कन्टेनरले हात्तीलाई ठक्कर दिएछ । हात्ती र माहुते दुवै घाइते थिए ।’ उहाँले भन्नुभयो ‘ ३ घण्टापछि हात्ती विस्तारै आफैं उठिन र हिँड्न थालेकी थिइन् ।’

कन्टेनर चालक मकवानपुर थाहा नगरपालिका– १ बस्ने सञ्जित वाईवालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि नेपाली सेनाको सिद्धिबक्स गण आधाभारमा पठाइएको उनले जानकारी दिनुभयो ।

आधाभार जंगल क्षेत्रको राजमार्गमा रातको समयमा विभिन्न जंगली जनावार समेत ओहोरदोहोर गर्ने हुँदा दुर्घटनामा पर्ने गरेका छन् । पथलैया–अम्लेखगञ्ज सडक खण्डमा ०७७ पुसमा कारको ठक्करबाट पाटे बाघको मृत्यु भएको थियो ।

निकुञ्जका अनुसार रेडिकलर जडान गरिएको बाघको नियमित अनुगमन गर्ने क्रममा २ ओटा हात्ती विस्तारित क्षेत्र पुगेर फर्केका थिए । त्यसक्रममा हात्तीलाई कन्टेनरले ठक्कर दिएको हो ।

निकुञ्जका प्रमुख मनोज साहले सवारी चालकको लापरबाहीले दुर्घटना भएको बताउनुभयो । ‘हात्तीको पछाडीको भागमा चोट लागेको छ, चितवनबाट आएका पशु चिकित्सकको निगरानीमा उपचार भइरहेको छ ।’ उहाँले भन्नुभयो ‘सडकमा त्यति ठूलो हात्तीलाई नदेख्ने चालकले कसरी गाडी चलाउँछन खै रु सवारी चालकको लापरबाहीले दुर्घटना भएको हो । ’

संरक्षित जनवार हात्तीलाई ठक्कर दिने ट्रक चालकलाई राष्ट्रिय निकुञ्ज ऐन अनुसार कारबाहीका लागि बारा जिल्ला अदालतमा पेश गरिने प्रमुख संरक्षण अधिकृत साहले बताउनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार