काठमाडौँ । सत्तासाझेदार दल जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले संसदबाट बहुमत प्राप्त प्रधानमन्त्री शेरबहादुर देउवालाई हेप्ने काम नगर्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई चेतावनी दिनुभएको छ।
यादवले एमालेप्रति संकेत गर्दै संसदबाट बहुमत सावित गराएका प्रधानमन्त्री देउवालाई हेप्ने, घोच्नेलाई जनताले माफी नदिने बताउनुभयो । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री देउवा नेतृत्वको गठबन्धनले आगामी निर्वाचन पछि पनि पाँच वर्ष सरकार चलाउने गरी जनताले म्यान्डेट दिने दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘संसदमा बहुमत सावित गरेर भएको प्रधानमन्त्रीलाई परमादेशको प्रधानमन्त्री भनेर हेप्ने, घोच्ने ? त्यस्तालाई जनताले माफी दिने छैनन् । अव यो गठबन्धन सरकार १८ महिनाको मात्रै होईन्, आगामी निर्वाचन पछि पनि पाँच वर्षका लागि निर्वाचित भएर आउनेछ । यो हाम्रो दावा हो ।’
सांसद यादवले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित काम गरेर पनि वर्तमान सरकारलाई परमादेशको सरकार भनेर हास्यास्पद तर्क गरिरहेको दावी समेत गर्नुभयो । उहाँले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई तत्काल हवाई उद्दार गर्न पनि सरकारलाई आग्रह गर्नुभयो । रातोपाटीबाट