सप्तकोसीमा आएको बाढीले गोबरगाढा बस्ती डुबानमा

राजविराज । सप्तकोसीमा आएको बाढीले हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढा बस्ती डुबानमा परेको छ । बिहीबार साँझदेखि कोसी उर्लंदा पुरानो बस्तीका ३०–३५ घरमा पानी पसेको हो । बाढीले दुईटा घर कटान गरेको छ ।

घर डुबेपछि स्थानीय बासिन्दा विद्यालयमा आश्रय लिइरहेको नगरप्रमुख शैलेशकुमार साहले जानकारी दिनुभयो । उहाँका अनुसार कोसीमा पानीको बहाब उच्च भएपछि ती घरमा १ देखि २ फिटसम्म पानी जमेको छ ।

स्थानीय हरि यादव र शत्रुधन यादवको घर कोसीले कटान गरेको छ । अन्य घर पनि कटानमा पर्न लागेको साहले बताउनुभयो । गोबरगाढामै रहेका हनुमाननगर–कंकालिनी नगरपालिका–१३ का वडाध्यक्ष बिन्देश्वर यादवले नयाँ त्यहाँको पुरानो बस्ती डुबानमा परेको जानकारी दिनुभयो । ‘स्थानीयलाई विद्यालयमा ल्याइएको छ,’ उहाँले भन्नुभयो, ‘अन्य घरसमेत कोसीको बाढीले कटान गर्न थालेको छ ।’

सप्तकोसी नदीको मध्य भागमा रहेको गोबरगाढा बस्तीमा हरेक वर्ष बाढी पस्ने गरेको छ । नगरपालिकाले उक्त बस्ती नै सार्ने योजना ल्याउने गरे पनि स्थानीयले छाड्न मानेका छैनन् । वडाध्यक्षको टोलीले अहिले डुबानमा परेका घर र क्षतिको विवरण संकलन गरिरहेको नगरप्रमुख साहले बताउनुभयो । ‘स्थानीयका लागि आवश्यक प्रबन्ध मिलाउने तयारी भइरहेको छ,’ उहाँले भन्नुभयो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार