रोल्पामा अगुल्टो प्रहार गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

दाङ । रोल्पामा बल्दै गरेको अगुल्टो प्रहार गरी बुवाको हत्या गरेको पछि प्रमाण नष्ट गर्न राति नै घर लिपपोत गरेको आरोपमा एक जना पक्राउ परेका छन्। त्रिवेणी गाउँपालिका वडा नं.४ चालढुङका २५ वर्षीय छोरा टेकबहादुर नेपालीले ६० वर्षीय बुवा लक्षिण नेपालीको आइतबार राति साढे १० बजेतिर अँगेनामा बल्दै गरेको अगुल्टाले प्रहार गरी हत्या गरेका थिए।

रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीका अनुसार सामान्य घरायसी झगडाका क्रममा छोरा टेकबहादुरले बुवा लक्षिणलाई बल्दै गरेको अगुल्टाले कञ्चटमा प्रहार गरेपछि उनको तत्कालै मृत्यु भएको थियो।

‘घटनापछि घर परिवारले प्रहरीलाई लडेर मृत्यु भएको भनेर खबरे गरे,’ डिएसपी सुवेदीले भन्नुभयो,‘प्रहरी त्यहाँ पुग्दा भर्खरै लिपेको जमिन र प्रमाण नष्ट गर्न जलाउँदै गरेको चिरपट हेर्दा त्यसमा कपालसहित रगत देखेपछि छोराले हत्या गरेको खुल्न आएको हो।’ बल्दै गरेको अगुल्टो प्रहारबाट बुवा लक्षिणको मृत्युपछि छोरा टेकबहादुर र उनको परिवारले मिलेर मृतक बुवालाई खाटमा सुताएको डिएसपी सुवेदीले बताउनुभयो।

‘प्रहरी पुग्दा शव खाटमा सुताइएको अवस्थामा फेला परे पनि भुइँमा झरेको रगत नदेखियोस् भनेर राति नै घरको भुइँ तला लिपपोत गरेको देखेपछि अनुसन्धानका क्रममा प्रमाण नष्ट गर्नका लागि जलाउँदै गरेको चिरपटको अगुल्टोमा रगत र कपालसमेत फेला परेको हो,’ डिएसपी सुवेदीले भन्नुभयो, ‘त्यसपछि प्रहरीले तत्कालै छोरा केशवबहादुरलाई नियन्त्रणमा लिएको हो।’

जिल्ला प्रहरी प्रमुख सुवेदीले मृतक लक्षिणका दुई वटा श्रीमती भए पनि दुबैको मृत्यु भइसकेको हुँदा छोरा र उनको परिवारले प्रमाण नष्ट गर्नको लागि रातारात घटनास्थलको भुइँ कोठा लिपपोत गरेको बताउनुभयो। शव पोष्ट मार्टमको लागि दाङ पठाइएको र पक्राउ परेका छोरामाथि थप अनुसन्धान हुन बाँकी नै रहेको डिएसपी सुवेदीले जानकारी दिनुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार