काठमाडौँ । प्रहरी हिरासतमा रहेका थुनुवालाई ‘छुटाउँछौँ’ भनेर घुस माग्ने नेकपा माओवादी केन्द्रका दुईजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोट घर भएका तिलक बहादुर उपाध्याय र रोल्पाका दत्त बुढा छन् । उपाध्याय माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य हुन् ।
रोल्पा घर भएका दत्त पूर्व विद्यार्थी नेता हुन् । महानगरीय प्रहरी वृत्त स्वयम्भूको हिरासतमा रहेका जुवाडेहरुलाई छुटाउँछौँ भनेर उनीहरुले घुस लिएको अनुसन्धानबाट खुलेको काठमाडौं परिसरका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताउनुभयो । जुवा खालबाट पक्राउ परेकाहरूसँग उनीहरुले ३ लाख नगद लिएका थिए ।
डिएसपी, सिडिओ र सरकारी वकिललाई ‘मिलाउनुपर्छ’ भनेर घुस लिएको हिरासतमा रहेकाहरूका आफन्तले सुराक दिएपछि प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले बुधवार उनीहरुलाई पक्राउ गरेको हो । घटनाबारे महानगरीय प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको छ । रातोपाटीबाट