
काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम रावलले एमसीसी सम्झौता नेपालको हितमा नरहेको बताउनुभएको छ । उहाँले एमसीसी सम्झौता गर्नेहरु नेपाली मन भएकाहरु नभएको पनि बताउनुभयो। उहाँले एमसीसी सम्झौतालाई संसद्मा पेश गरेर पारित गर्ने काम गरिए नेपाललाई उपनिवेशीकरणमा धकेल्ने राष्ट्रघाती कुकर्म हुने बताउनुभयो।
राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले एमसीसी सम्झौताको पूनरावलोकन गर्ने अधिकार पनि एमसीसीलाई मात्रै रहेको भन्दै आपत्ति जनाउनुभयो। उहाँले भन्नुभयो, ‘नेपाल सरकारको निर्णय अधिकारलाई सिमित पारिएको छ। सरकारले कुनै निर्देशन दिन नसक्ने, नीति निर्माण गर्न नसक्ने, र जुन मिलिनियम च्यालेन्ज अकाउन्ट भन्ने कार्यालय खोलेको छ, कस्तो भ्रम सिर्जना गर्न खोजिएको छ भने त्यसको प्रमुख नेपालको अर्थसचिव, बोर्डको प्रमुख पनि नेपालकै, तर त्यो बोर्ड र त्यो मिलेनियम च्यालेन्ज अकाउन्टले नेपाल सरकारको कुनै निर्देशन नमान्ने, सिधै एमसीसीको निर्देशन मान्ने भनिएको छ। यो कल्पना गर्न सकिन्छ ? के अमेरिकाले आफ्नो देशको कुनै कार्यालयलाई त्यसरी विदेशीको निर्देशनमा राख्न तयार हुन्छ ?’
उहाँले एमसीए नेपाल पनि नेपाल सरकारप्रति उत्तरदायी नहुने भनिएकोमा आपत्ति जनाए। उनले नेपाली जनताका प्रतिनिधिहरु अब छिट्टै नै बस्ने संसदमा नेपाल सरकार र एमसीसी सम्झौता के गर्छौ भनेर हेरिरहेको सुनाउनुभयो। उहाँले भन्नुभयो, ‘यस सम्बन्धमा जुनबेला नेकपा थियो, त्यसको दोस्रो केन्द्रीय कमिटी बैठकबाट एमसीसीबारे कार्यदल बनेको थियो, कार्यदलले यसका गम्भीर प्रावधानहरु, जो नेपालको स्वाधिनताको प्रतिकुल छन्, जसको नेपालको स्वतन्त्र परराष्ट्र नीति समाप्त गरेर शक्ति राष्ट्रको रणनीतिमा घचेट्ने छ भनेर, त्यसको अध्ययन गर्न झलनाथ खनालको संयोजकत्वमा कार्यदल बनेको थियो। कार्यदलले प्रतिवेदन तयार पारेको थियो। त्यो प्रतिवेदनमा हामीले एमसीसीमा नेपालको राष्ट्रियहितको प्रतिकुल काम भएका छन् भनेर राखेका थियौं।’nagariknews.nagariknetwork बाट