कांग्रेस महामन्त्री पदमा प्रदीप पौडेल पनि भिड्ने

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल पनि मंसिरमा हुने १४ औं महाधिवेशनमा महामन्त्री पदमा लड्ने हुनुभएको छ । उहाँले महामन्त्रीमा लड्न आन्तरिक तयारी गरिसक्नुभएको छ । ‘महामन्त्रीमा लड्ने मेरो तयारी छ,’ पौडेलले भन्नुभयो, ‘दुई-चार दिनमा औपचारिक घोषणा गर्छु।’पौडेल पछिल्लो समय केन्द्रीय क्रियाशील छानबिन समितिमा रहेर काम गर्नुभएको थियो ।

क्रियाशील सदस्यता सम्बन्धीका विवाद अझै केही जिल्लामा टुंगोमा पुगेको छैन। यी विवाद समाधान गरिसकेपछि महाधिवेशनमा होमिने पौडेलको तयारी छ।पौडेल पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट महामन्त्रीमा लड्ने तयारी गरिरहनुभएको छ । सिटौला यसपालि पनि सभापति उठ्ने तयारी गर्नुभएको छ । सिटौला २०७२ सालमा भएको १३ औं महाधिवेशनमा सभापति उठेका थिए । त्यसबेला सिटौलाकै सहयोगमा सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुनुभएको थियो ।

पौडेल भन्नुभयो १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य मात्रै लड्नुभएको थियो । पौडेल पहिलोपटक कांग्रेस पदाधिकारीमा लड्न लाग्नुभएको हो । स्रोतका अनुसार सिटौलाले पौडेललाई महामन्त्रीको तयारी गर्न भन्नुभएको छ ।यसबारे पौडेलसँग सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, ‘कुन टिमबाट उठ्ने सल्लाह गर्न बाँकी नै छ। तर तपाईंहरूलाई थाहा नै छ म कुन टिमसँग नजिक छु भन्ने।’

यसअगाडि १३ औं महाधिवेशनमा गगन थापा सिटौला पक्षबाट महामन्त्री लड्नुभएको थियो । उहाँ रामचन्द्र पौडेल पक्षबाट महामन्त्री लडेका शशांक कोइरालासँग पराजित हुनुभएको थियो। पछिल्लो समय थापा भने संस्थापनइतर समूह (पौडेल) समूहतर्फ नजिक हुनुहुन्छ ।उहाँ पौडेल पक्षबाटै महामन्त्री लड्ने तयारीमा हुनुहुन्छ । तर पौडेल पक्षले सभापतिको उम्मेदवार कसलाई बनाउने भन्ने तय गरिसकेको छैन। सर्वसम्मत तवरबाट सभापतिको उम्मेदवार दिने पौडेलले केही दिनअगाडि पत्रकार सम्मेलनमा भन्नुभएको थियो , त्यो पत्रकार सम्मेलनमा थापा पनि सहभागी हुनुहुन्थ्यो।

प्रदीप पौडेल पनि महामन्त्री पदमा लड्ने तयारी गरेपछि युवा केन्द्रीय सदस्यहरू यो महाधिवेशनमा आमनेसामने हुने भएका छन्। सभापति देउवा पक्षबाट महामन्त्रीमा प्रवक्ता विश्वप्रकाश शर्मा पनि लड्ने तयारीमा हुनुहुन्छ । उहाँले यही भदौ २४ गते महामन्त्री पदमा लड्ने औपचारिक घोषणा गर्दैहुनुहुन्छ ।थापाले गत भदौ १४ मै महामन्त्री पदमा लड्ने घोषणा गरिसक्नुभएको छ । कांग्रेस विधानअनुसार यसपटक दुई महामन्त्री पदका लागि निर्वाचन हुनेछ। सभापति, दुई उपसभापति र एक सय ६८ सदस्यीय केन्द्रीय समितिमध्ये १३५ सदस्यीय केन्द्रीय सदस्यका लागि पनि प्रत्यक्ष निर्वाचन हुनेछ।

विशेषगरी महामन्त्री पदमा यसपटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ। सभापति देउवा पक्षबाट महामन्त्रीमा प्रवक्ता शर्मासँगै गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, एनपी साउदलगायत नेता आकांक्षी छन् ।वरिष्ठ नेता पौडेल पक्षबाट केन्द्रीय सदस्य मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, धनराज गुरूङ, सरिता प्रसाईं आकांक्षी छन्। गगन पनि यही टिमबाट महामन्त्री उठ्ने तयारीमा हुनुहुन्छ ।

सिटौला पक्षबाट पौडेल महामन्त्रीको तयारी गर्दैहुनुहुन्छ । उपसभापति विमलेन्द्र निधि पनि सभापति उठ्ने तयारी गरिरहेकोले उहाँको तर्फबाट को(को महामन्त्रीमा उम्मेदवारी दिन्छन् भन्ने अहिलेसम्म खुलेको छैन। निधिले सम्पर्क कार्यालय नै खोलेर महाधिवेशनको तयारी गरिरहेका छन्।सिटौला समूहबाट महामन्त्रीमा उठ्न लागेका पौडेल नेविसंघका पूर्वअध्यक्ष हुनुहुन्छ । उहाँ २०७४ सालको निर्वाचनमा तनहुँबाट प्रदेश सभा क्षेत्रमा उम्मेदवार बनेका थिए त्यसबेला ५ मतले नेकपा माओवादी केन्द्रकी आशा कोइरालासँग पराजित हुनुको थियो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार