क्रियाशील सदस्यबाट नाम हटाइएपछि वडा सभापतिद्धारा मुण्डन

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–९ का कांग्रेस वडा सभापति नरबहादुर पालले आफ्नो क्रियाशील सदस्यता खारेज गरिएको भन्दै कपाल मुण्डन गरी किरिया बस्नुभएको छ ।

लामो समयदेखि आफूले पार्टीमा दिएको योगदानको अनादर भएको भन्दै उहाँले दुःख व्यक्त गर्नुभएको छ । ‘नेपाली कांग्रेसको किरियाको मेरो पहिलो दिन,’ सोमबार कपाल खौरेको दुईवटा फोटो सामाजिक सञ्जालमा राख्दै उहाँले लेख्नुभएको छ ।

आइतबार सार्वजनिक भएको नेपाली कांग्रेसको क्रियाशील सदस्यता सूचीबारे डडेल्धुरामा विवाद उत्कर्षमा पुगेको छ । सार्वजनिक नामावलीमा धेरै सदस्यको नाम हटाइएको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ । नाम हटाइएपछि वडादेखि जिल्ला अधिवेशन प्रभावित बन्ने देखिएको छ।

नेपाली कांग्रेस डडेल्धुराका कार्यालय सचिव राम विष्टका अनुसार चार तहबाट प्रमाणित भएकाको नाम हटाइएको छ । वडा, पालिका, प्रदेशसभा क्षेत्र र जिल्ला कार्यसमितिबाट निर्णयसहित अनुमोदन गरिएका चार सयभन्दा बढी सदस्यको नाम हटाइएको उहाँले जानकारी दिनुभयो । जिल्लाबाट सिफारिस गर्दै नगरेकाको नाम क्रियाशील सदस्यको सूचीमा समावेश गरिएको उहाँको भनाइ छ ।

कार्यसमितिले दुई हजार पाँच सय ६ नयाँ सदस्य तथा नवीकरणका लागि पुराना सदस्यको नाम गरेर ५८ सय चारजनाको सूची सिफारिस गरेको थियो । जसमध्ये चार सय ४४ जनाको नाम छानबिन समितिले हटाएर पठाएको छ । नागरिक खबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार