एमाले र जसपा छाड्ने प्रदेश सांसदको नाम आज सार्वजनिक हुँदै

काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभामा भएको दल विभाजनको विवरण शुक्रबार (आज) सार्वजनिक गर्ने तयारी गरेको छ । एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका प्रदेश सांसदहरुको विवरण आज सार्वजनिक हुने आयोगले जनाएको छ ।

त्यस्तै, जनता समाजवादी पार्टी(जसपा) छाडेर लोकतान्त्रिक समाजवादी (लोसपा) मा लागेका प्रदेश सांसदहरुको विवरण पनि सार्वजनिक गर्ने आयोगको तयारी छ । ‘आज बस्ने आयोगको बैठकले प्रदेश सभामा दल–बदल गर्नेहरुको नामावलीलाई अन्तिम रुप दिनेछ,’ निर्वाचन आयोग स्रोतले भन्यो , ‘स्थानीय तहको भने कतिपय दुर्गम हिमाली जिल्लाबाट विवरण आउन बाँकी छ, त्यो पनि चाँडै सार्वजनिक गर्छौं ।’

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार एमाले र जसपा पार्टी परिवर्तन गरेर नयाँ दलमा लाग्न चाहने प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन आयोगले भदौ २२ गतेसम्म सनाखत गर्न म्याद दिएको थियो । भदौ २२ सम्म सनाखत गर्नेहरुको नामावली प्राप्त भएपछि शुक्रबार बस्ने आयोगको बैठकले त्यसलाई अन्तिम रुप दिन लागेको हो । सोमबारभित्र स्थानीय तहका जनप्रतिनिधिहरुको पनि विवरण सार्वजनिक हुने आयोग स्रोतले बतायो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार