
काठमाडौँ । एमालेको निरन्तरको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ । आइतबार बसेको दोस्रो बैठकमा पनि एमालेले अवरोधलाई निरन्तरता दिएपछि सभामुख अग्नि सापकोटाले बैठक मंगलबारसम्मका लागि स्थगित गर्नुभएको हो । सापकोटाले सहमति, सहकार्य र छलफलबाट सहमति निकाल्न आग्रह समेत गर्नुभएको छ ।
उहाँले सहमतिको विकल्प नभएको बताउँदै गम्भीर हुन समेत दलका नेताहरुलाई आग्रह गर्नुभएको छ । यसअघि आजै बसेको पहिलो बैठक अवरुद्ध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो । यो बीचमा उहाँले सभाको अवरोध हटाउन छलफल समेत गर्नुभएको थियो ।
उहाँले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, एमाले सांसद खगराज अधिकारी लगायतसँग छलफल गरे पनि सहमति जुटेन । एमाले सांसदहरुले संयमित भएर संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र बन्द गर जस्ता नारा लगाएर अवरोध गरे । पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले सदन अवरुद्ध पार्दै आएको छ । रातोपाटीबाट