
काठमाडौं । चीनमा चिकित्साशास्त्र अध्ययन गरेर आएको लामो समय भइसक्दा पनि इन्टर्नसिप गर्न नपाएको भन्दै मङ्गलबार राजधानीमा प्रदर्शन भएको छ । एमबीबीएस कोर्स पूरा भए पनि आफूहरुले इन्टर्नसिप गर्न नपाएको उनीहरुको गुनासो छ ।
राजधानीको माइतीघरमा भेला भएका उनीहरुले विभिन्न नारा अङ्कित प्लेकार्डसहित प्रदर्शन गरेका थिए । चीनबाट एमबीबीएस पढेर आएको लामो समय भइसक्दा पनि केही सुनुवाइ नभएको भन्दै उनीहरुको आक्रोश थियो । उनीहरुले नेपाल मेडिकल काउन्सिलको इन्टर्नसिप नियमको बुँदा नम्बर ३ समेत ध्यानाकर्षण गराएका थिए ।
३ नम्बर बुँदामा ‘विदेशमा अध्ययन गरेर नेपालमा नै इन्टर्नसिप गर्नुपर्ने कुनै विशेष वा बाध्यात्मक परिस्थिति भएमा सो परिस्थितिको जानकारी दिँदै विद्यार्थीले आफू पढेको संस्था र नेपाल मेडिकल काउन्सिलको पूर्वस्वीकृति लिएर मात्र नेपाल भित्रका संस्थामा इन्टर्नसिप गर्न पाउनेछ । यस प्रकारको इन्टर्नसिप नेपाल मेडिकल काउन्सिलको नियमभित्र रहेर गर्नुपर्नेछ ।’ रातोपाटीबाट