गलेश्वर मन्दिरमा पित्तलको छाना (फोटो फिचर )

म्याग्दी । प्रसिद्ध गलेश्वर शिवालय मन्दिरको छाना फेरिएको छ । म्याग्दीको बेनी नगरपालिका–९ ,स्थित गलेश्वर शिवालय क्षेत्र विकास कोषले २३ वर्षअघि निर्माण भएको मन्दिरको छानालाई पित्तलले छाएको हो । १५ फागुन २०७७ सम्पन्न कोषको १५औँ कार्यकारी सभाले छाना फर्ने निर्णय गरेको थियो । मन्दिरको छाना पित्तलले छाएको कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार आपूर्तिकर्तासँग गत चैतमै सम्झौता गरे पनि निषेधाज्ञाका कारण पित्तलको पाटा ल्याउन नसकेपछि चार महिना काम हुन सकेन । साउन अन्तिम सातादेखि सुरु भएको हो । पित्तलले छाएपछि आकर्षक देखिएको मन्दिर बलियो र टिकाउ हुने उहाँले बताउनुभयो ।

मन्दिरको छाना छाउन कोषका आजीवन सदस्य रमेश शर्माले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ । उहाँका बुवा राधाकृष्ण पराजुलीले विसं २०५५ मा २० लाख रुपैयाँ खर्चेर मन्दिर निर्माण गर्नुभएको थियो ।३१ लाख ७५ हजार रुपैयाँ लागतमा मन्दिरको छाना पित्तलले छाएकाे  गलेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार पित्तलको गजुर राख्न बाँकी छ । कोषले मन्दिर छाउनका लागि उग्रचण्डी मेटल कार्विन काठमाण्डौं सँग ठेक्का सम्झौता गरेको छ ।

भिडिओ हेर्नुहोस् 

छानो फेर्न कोषका कोषाध्यक्ष पुनको अध्यक्षतामा उपभोक्ता समिति बनाएर काम गरिएको हो । यसअघि सिमेन्टको छानो वर्षेनी रङरोगन गरिँदै आएको थियो । अहिले छानोमाथि प्लाइ र पित्तल राखिएको कोषका कोषाध्यक्ष तथा उपभोक्ता समितिका अध्यक्ष पुनले बताउनुभयो ।कालीगण्डकी नदी किनारमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर छ । हिन्दू धर्मगन्थ्रमा गलेश्वरमा सतिदेवीको गला पतन भएको उल्लेख छ ।

साउन महिनाको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआज हुन्छ ।गलेश्वरमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । गलेश्वर मन्दिर म्याग्दीको प्रमुख धार्मिकस्थल हो ।मन्दिरमा भक्तजनले चढाउने भेटीबाट पूर्वाधार निर्माण, पूजा व्यवस्थापन, संस्कृत विद्यालय, वृद्धाश्रम र तीर्थयात्री निवास सञ्चालन भएको छ । पछिल्लो दुई वर्षयता कोरोनाका कारण मन्दिरमा पूजाआजा नहुँदा आयस्रोत घटेको छ ।  तस्बिर : धनिलाल गर्बुजा पुन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार