
काठमाडौं । देशभरका सबै वडामा नेपाली कांग्रेसको अधिवेशन प्रक्रिया पूरा हुँदा एक लाख १० हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन हुने भएका छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले कुल छ हजार ७४३ वडामा अधिवेशन पूरा हुँदा त्यहाँबाट एक लाख १० हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन हुने जनाएको छ ।
केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीले वडाको निर्वाचनबाट पार्टीको वडाध्यक्ष र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने र त्यसबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित हुने जानकारी दिनुभयो ।कांग्रेसको विधानअनुसार १५० भन्दा बढी क्रियाशील सदस्य भएको वडाबाट १५ क्षेत्रीय प्रतिनिधि र एक वडा सभापति गरी १६ जना चयन हुने छन् ।
वडा सभापतिले पनि क्षेत्रीय प्रतिनिधिसरह महाधिवेशन प्रतिनिधिको चयन प्रक्रियामा भाग लिन पाउने प्रावधान छ । वडा अधिवेशनले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने छ । समाचार आजको गोरखापत्रमा दैनिकमा प्रकाशित छ । नागरिक खबरबाट