किशोरदत्तले ल्याए ‘नेपाली कांग्रेसमा रूपान्तरणका सूत्र’

पोखरा । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् पूर्व सभामुख तारानाथ रानाभाटले नेपाली कांग्रेसमा रूपान्तरण अपरिहार्य भइसकेको बताउनुभएको छ । कांग्रेसमा २००७ र २०४६ सालको जस्तो ऊर्जा कायम राख्नका लागि सुवर्ण शमशेर र गणेशमानका जस्तो त्याग र बिपी कोइरालाका जस्तो जीवनसापेक्ष वैचारिक हस्तक्षेप राख्ने गरी नेतृत्वमा रूपान्तरण आवश्यक रहेको रानाभाटले बताउनुभयो ।

नेपाली लेखक संघ, कास्कीद्वारा आयोजित किशोरदत्त बरालद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको रूपान्तरणका सूत्रहरू’ को लोकार्पण समारोहमा प्रमुख अतिथिका रूपमा बोल्दै रानाभाटले सो कुरा बताउनुभएको हो । कार्यक्रममा पुस्तकमाथि समीक्षकीय दृष्टिकोण प्रस्तुत गर्दै प्रा.डा. यादव शर्मा गौंडेलले लेखकले पुस्तकमा नवीन चिन्तन र विचार प्रक्षेपण गरेको बताउनुभयो । राजनीतिक दल भनेका समाजका अगुवाहरूको जमात बन्नुपर्ने उद्घोष पुस्तकमा गरिएको बताउँदै उहाँले पुस्तकमा उद्यमशीलता, रोजगारी र पुँजी निर्माणलाई विशेष जोड दिइएको बताउनुभयो ।

कृषि, जडीबुटी, पर्यटन र जलस्रोतलाई केन्द्रमा राखेर पार्टीको नेतृत्वले आफूलाई उद्यमशील बनाउँदै कार्यकर्ता पङ्क्तिलाई समेत उद्यमशीलतातर्फ अग्रसर गराउनु पर्ने वर्तमान आवश्यकतालाई पुस्तकले दर्‍होसँग उठान गरेको बताउनुभयो । पुस्तकमा विचार मात्रै नदिएर पार्टीको रूपान्तरणका व्यावहारिक एवम् वैज्ञानिक उपायलाई समेत प्रस्तुत गरिएकाले प्रस्तुत पुस्तक एकपटक राजनीतिमा लाग्ने र आफूलाई व्यावहारिक बनाउन चाहने सबैले अध्ययन गर्नुपर्ने गौंडेलले बताउनुभयो । विगत र वर्तमानको ऐनाका रूपमा पुस्तक आएको उल्लेख गर्दै उनले शिक्षा, प्रविधि एवम् आर्थिक क्षेत्रलाई राजनीतिक दल सञ्चालनसँग जोडेर व्यवस्थापन कौशल र अर्थशास्त्रीय दृष्टिकोणसमेत पुस्तकमा आउनुले पुस्तक ओजिलो बनेको बताउनुभयो।

अर्का समीक्षक एवम् कांग्रेस नेता देवराज चालिसेले प्रस्तुत पुस्तक किशोरदत्त बरालको अनुभवबाट खारिएको विचार बोकेर आएको उल्लेख गर्नुभयो । कांग्रेसको मूल्य, मान्यता र लक्ष्य के हुनुपर्छ भन्नेबारे पुस्तकले विभिन्न आधार प्रस्तुत गरेको बताउँदै चालिसेले नेतृत्व सङ्लिए मात्र सिङ्गो राजनीति सङ्लिने कुरालाई पुस्तकले विशेष जोड दिएको बताउनुभयो । राजनीतिक दलमा निर्णय प्रक्रिया, पारदर्शिता, उत्तरदायित्व र आर्थिक अनुशासनको ठूलो मूल्य रहेको कुरालाई लेखकले प्रमुखताका साथ उठाएको हुँदा पुस्तकले वास्तविकताको उठान गर्दै कांग्रेस रूपान्तरणको स्पष्ट खाका प्रस्तुत गरेको औँल्याए । पुस्तकमा रहेका कुरा हरेक नेतृत्व र कार्यकर्ताले अध्ययन र अनुसरण गर्न आवश्यक रहेकोमा उनले जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले लेखकले विचार दिनुपर्ने र यस्तै पुस्तक जन्माइरहनुपर्ने कुरामा जोड दिनुभयो। संविधानसभा सदस्य शारदा पौडेलले लेखक किशोरदत्त बरालले पुस्तकमा उल्लेख गरेको विचार राजनीतिमा सक्रिय हुनेहरूले मनन गरेर आफ्ना व्यवहार परिवर्तन गर्दै लगेमा साँच्चिकै कांग्रेस रूपान्तरित हुने र फेरि एकपटक प्रजातान्त्रिक संस्कारको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा लेखकीय मन्तव्य राख्दै पुस्तकका लेखक किशोरदत्त बरालले नेपाली कांग्रेसमा २०४८ सालदेखि देखिएको बेथिति अन्त्य गर्न आवश्यक भएको औँल्याए । यसका लागि वैचारिक हिसाबले खारिएको र व्यावहारिक हिसाबले सच्चिएको नेतृत्वले वडादेखि केन्द्रसम्म हस्तक्षेप गर्नुपर्ने आवश्यकता देखेपछि पुस्तक लेखन अगाडि बढाएको सुनाउनुभयो । उहाँले सपना र प्रतिबद्धताविनाको नेतृत्वले गर्दा पार्टी पार्टीजस्तो नबनेको र व्यक्तिवादी चरित्र मौलाउँदै गएकोप्रति दुःख व्यक्त गर्नुभयो ।

अब कांग्रेसबाहेक कुनै पनि गुट उपगुट निर्माण नगरी हरेक गाउँ तहबाट पुनर्जागरण र रूपान्तरण गर्दै पार्टीलाई पुनर्निर्माण गर्नुपर्ने बताउनुभयो । नेपाली लेखक संघ, कास्कीका अध्यक्ष सञ्जीव पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कमल पौडेल ‘अथक’ले गरेका थिए भने स्वागत मन्तव्य संस्थाका निवर्तमान अध्यक्ष गणेश शर्माले राखेका थिए । eadarshaबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार