समृद्ध र समतामूलक समाज निर्माण गर्न संविधानको पालना अनिवार्य शर्तः उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानमार्फत गरेका सङ्कल्प समृद्ध राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्ण पालना, संरक्षण र संवर्द्धन अनिवार्य शर्त भएको बताउनुभएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७८ को अवसरमा शुभकामना सन्देश दिंदै उपराष्ट्रपति पुनले संविधानको पालना र कार्यान्वयनमा केही चुनौती आए पनि राष्ट्र सही बाटोमा फर्किएर अगाडि बढिरहेको उल्लेख गर्नुभएको हो । सन्देशमा उहाँले भन्नुभएको छ, “म यस अवसरमा संविधानको पूर्ण पालन, संरक्षण र संवर्धनका लागि सबै नेपालीमा आग्रह गर्दछु । संविधान गतिशील दस्तावेज भएकोले संविधानभित्रै रहेर यसलाई अझै समृद्धि बनाउँदै लैजान सकिन्छ ।”

सार्वभौम संविधानसभाबाट संविधान जारी भएको २०७२ असोज ३ गते नेपाली इतिहासकै स्वर्णिम दिन भएको स्पष्ट पार्दै उपराष्ट्रपति पुनले विभिन्न कालखण्डका जनआन्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्ध र २०६२/०६३ को ऐतिहासिक जनआन्दोलन र अन्य आन्दोलनहरुमा सहादत प्राप्त गरेका सहिदहरुप्रति उच्च सम्मान व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले सङ्घर्षका क्रममा घाइते तथा अपाङ्ग भएका योद्धाप्रति सम्मानसहित स्वास्थ्य लाभको कामना गर्दै बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान पनि व्यक्त गर्नुभएको छ ।

संविधानमा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने सङ्कल्प गरेको समेत उपराष्ट्रपति पुनले स्मरण गर्नुभएको छ। उहाँले विगतका राज्यव्यवस्थाले सृजना गरेका वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक लगायतका सबै प्रकारको विभेद र उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने हाम्रो संविधानको सङ्कल्प रहेको बताउनुभएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार