माधव नेपालसहित १४ सांसद्को पद खारेजी मुद्दाको आज पनि सुनुवाइ हुँदै

काठमाडौँ । नेकपा (एमाले)का तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसद्को पद खारेजी मुद्दाको सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुने भएको छ । सोमबार न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भएको मुद्दामा बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

हिजो बहस नसकिएका कारण आज पनि सुनुवाइले निरन्तरता पाउने भएको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले नेपालसहित १४ सांसद्लाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । एमाले १४ जना सांसद्लाई कारबाही गरेको पत्र पठाए पनि सांसद् पद निलम्बन नगरेर सभामुख पार्टी फुटाउने मतियार बनेको आरोप लगाउँदै आएको छ ।

१४ जनालाई पदमुक्त गरेको सूचना टाँस्नुपर्ने भन्दै एमालेले संसद्‌मा निरन्तर अवरोध गरिरहेको छ ।एमालेले १ भदौमा संसद सचिवालयमा सांसदमाथिको कारबाहीको निवेदन दर्ता गरेको थियो । तर, सभामुख सापकोटाले विचाराधीन राखेका थिए । कारबाही विचाराधीन रहेकै बेलामा माधव नेपालले नयाँ पार्टी दर्ता गरेका थिए । नयाँ पार्टी दर्ता भइसकेको हुनाले सभामुखले कारबाही गर्नु नपर्ने निर्णय गरेका थिए । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार