गोरखा । श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–७ पौवाखेतकी ५५ बर्षकी माइली कामीलाई पक्राउ गरेको छ ।असोज ४ गते राति उनले आफ्नै श्रीमान ५६ बर्षका आइतबहादुर कामीको हत्या गरेको प्रहरीले बताएको छ । प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले माइलीले नै श्रीमानको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउनुभयो।
‘लगातार घाँटी थिचेका कारण आइतबहादुरको मृत्यु भएको अनुसन्धानबाट खुल्न आयो अनि हामीले माइलीलाई पक्राउ गर्यौं’ उहाँले भन्नुभयो । मंगलबार पक्राउ परेकी माइलीविरुद्ध ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालतबाट अनुमति लिइसकेको छ ।धार्चे गाउँपालिका–२ केरौजाका आइतबहादुरको परिवार २०७२ सालको भूकम्पले वस्ती जोखिममा परेपछि गोरखा नगरपालिका–७ पौवाखेतमा बसोबास गर्दै आएका थिए ।
उनीहरुको दुई छोरामध्ये कान्छो छोरा र बुहारी उनीहरुसँगै बस्छन् ।श्रीमानले रक्सी खाएर गाली गरेकाले घाँटी थिचेको माइलीले प्रहरीसमक्ष स्वीकार गरेकी छन् । घटनाको भोलिपल्ट बिहान माइली आफूले काम गर्ने गोरखा बसपार्कस्थित होटल मुक्तिनाथ पुगेकी थिइन् । घरमा मान्छे जम्मा भएर बोलाएपछि उनी घर फर्किएकी थिइन् । अनलाइनखबरबाट