जनताको बहुदलीय जनवादलाई आत्मसात गर्छौं : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मसात गर्न चाहेको बताउनुभएको छ । अध्यक्ष नेपालले जनताको बहुदलीय जनवादको मूल्य र मान्यतालाई रक्षा गर्दै आफ्नो पार्टी अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

पार्टी निकट युवा संघ नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीजस्ता नेताहरुको जीवनबाट प्रेरणा लिएर आफ्नो पार्टी अघि बढने दृढता समेत व्यक्त गर्नुभयो। अध्यक्ष नेपालले माओ, होचि मिन्हजस्ता नेताहरुले विश्व कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाएको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उनले भने, ‘जनताको बहुदलीय जनवादीलाई हामीले आत्मासात गर्न चाहन्छौं । त्यसको मूल्य र मान्यताको रक्षा गर्न चाहन्छौं । विश्वका विभिन्न देशहरुमा कम्युनिष्ट पार्टीहरूमा एकसे एक नेताहरुको उदय भएको छ । र उनीहरुको महत्वपूर्ण भूमिकाले त्यो देशको कम्युनिष्ट आन्दोलन निरन्तर रुपमा अगाडि बढेको छ ।’ उहाँले भन्नुभयो, ‘चीनमा माओजस्ता नेताहरु, देङ सियाओ पिङजस्ता नेताहरु जन्मे ।

त्यसैगरी भियतनाममा होचि मिन्हलगायतका नेताहरु जन्मे र कम्युनिष्ट पार्टीलाई लोकप्रिय बनाए । हामीकहाँ पनि पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीजस्ता नेताहरु जन्मिए । तुलसीलाल जस्ता योद्धाहरु देखापरे । ती सबै योद्धाहरूप्रति हामी गौरवबोध गर्दछौं । उहाँहरुको जीवनबाट प्रेरणा लिएर हामी अघि बढछौं ।’

अध्यक्ष नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुनेबित्तिकै युवाहरुलाई रोजगारी दिने कामलाई जोड दिने समेत बताउनुभयो । उहाँले त्यसका लागि आफूलाई दक्ष बनाउने गरी प्रशिक्षित हुन पनि आफू निकट पार्टीका युवा संघका नेता, कार्यकर्तालाई सचेत पनि गराउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार