
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छरिएर रहेका कम्युनिस्ट शक्तिहरू एकीकृत बनाउने प्रयास भइरहेको खुलासा गर्नुभएको छ । उहाँले देशमा साम्राज्यवादी र प्रतिक्रियावादीले मुलुकमा अस्थिरता मच्चाउने प्रयास भइरहेको भन्दै त्यसबाट जोगाउन पनि राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउन जरुरी भएको पनि बताउनुभयो ।
बिहीबार योङ्ग कम्युनिस्ट लीग (वाइसीएल) नेपालको दोस्रो पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले बाबुराम, मोहनविक्रम, मोहन वैद्य, र विप्लवसहितका नेताहरूसँग छरिएका कम्युनिस्टहरूलाई एकै ठाउँ ल्याउन छलफल भइरहेको बताउनुभएको छ । प्रचण्डले माओवादी केन्द्र कमजोर भए गणतन्त्र मात्रै नभएर देश नै खतरामा रहेको बताउनुभयो । ‘माओवादी केन्द्र कमजोर भयो भने संघीय लोकतान्त्रिक गणतन्त्र मात्रै होइन, देश नै खतरामा छ’, प्रचण्डको भनाइ छ ।
त्यस्तै अध्यक्ष प्रचण्डले केपी ओली सामन्ती हिन्दुअतिवादी भएको आरोप समेत लगाउनुभएको छ । ‘केपी ओली कम्युनिस्ट होइनन्, उनी सामन्ती हिन्दु अतिवादी हो’, प्रचण्डले भन्नुभयो ‘ मेरो निर्वाचन क्षेत्रमा लगेर राम सीता हनुमान राखिदिएका छन् । कम्युनिस्टले यस्तो गर्छ त रु’ प्रचण्डको भनाइ छ । उहाँले माधव नेपालको नेतृत्वमा बनेको नयाँ पार्टी बनाउन आफ्नो समेत मिहिनेत रहेको भन्दै उहाँले कम्युनिस्ट घटकसँग केन्द्रदेखि स्थानीय तहसम्मै सहकार्य गरेर अघि बढ्न निर्देशन दिनुभयो। रातोपाटीबाट