
काठमाडौं । नेकपा एमालेमा यसअघि व्यवस्था गरिएको ७० वर्षे उमेर हद कायमै राखिने भएको छ । एमालेको केन्द्रीय समिति बैठक ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा जारी छ ।
बैठकमा पेश भएका विभिन्न तीन दस्तावेजमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा नेता विष्णु पौडेलले ७० वर्षे उमेर हद कायमै रहने बताए । पौडेल विधान संशोधन कार्यदलका संयोजक हुन् ।
आइतबार नेताहरुले तीनवटै प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदैछन् । यसक्रममा विधान संशोधन प्रस्तावमाथि छलफलका क्रममा धेरैजसो नेताहरुले केन्द्रीय पदाधिकारीहरूमा यसअघि व्यवस्था गरिएको ७० वर्षे उमेर हद हटाउनुपर्ने सुझाव दिएका छन् ।
जवाफ दिने क्रममा उपमहासचिव समेत रहेका पौडेलले भने ७० वर्षे उमेर हद कायमै राखिने भएको जवाफ दिए । पौडेलले भने, ‘यसबारे विधान महाधिवेशनले निर्णय गरे बेग्लै कुरा हो तर अहिले यसलाई कायमै राखिनेछ ।’
यस्तै केन्द्रीय उपाध्यक्षमा तीन जना रहने भन्ने प्रस्तावका बारेमा अध्यक्षले जवाफ दिने उनले बताए । प्रस्तावित विधानमा तीनजना उपाध्यक्ष रहने व्यवस्था रहेको थियो ।नेताहरुले सुझावका क्रममा ५ देखि सातजना उपाध्यक्षको व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए । एमालेमा हाल ५ जना उपाध्यक्ष रहने व्यवस्था छ । नागरिक खबरबाट