
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले अझै चार जिल्लामा क्रियाशील सदस्यताका विवाद टुंग्याउन नसकेको बताउनुभएको छ । पार्टीले विवाद समाधान गरेर जानुपर्छ भनेर आफूहरूले आवाज उठाए पनि पदाधिकारीहरूले नै पार्टीका कुरा बाहिर नलैजान भन्ने गरेको उहाँको भनाइ छ ।
‘दम्भ देखायो भन्छन् हामीले के दम्भ देखाउने ?,’ चाक्सीबारीमा सोमबार उहाँले प्रश्न गर्नुभयो, ‘दम्भ त जो पार्टी सत्तामा छ, संस्थापनमा छ उनीहरूले देखाएका छन्। केन्द्रीय कार्यालयमा कार्यकर्ता धर्ना बसेको ८० दिन नाघिसक्यो, यसमा कुरा उठायो भने पदाधिकारीहरू स्यालको हुइँय्याजस्तो पार्टीको आवाज बाहिर उठाउन भएन भन्नुहुन्छ।’
पार्टी पदाधिकारीहरूले बेलैमा क्रियाशील सदस्यताको विवाद हल गर्नुपर्नेमा त्यसो नगर्दा समस्या भइरहेको उहाँले बताउनुभयो। ‘काम चाहिँ गर्न नहुने खालका गर्ने, कार्यकर्ताको मनोबल गिराउने काम गर्ने अनि हामीले यसो गर्न पाइँदैन भन्दा बोल्न पाइँदैन भनेर भन्ने तिनीहरू को हुन् ? यो पार्टीमा सबैको लगानी छ, पदमा पुगेँ भनेर चाकडी गर्ने र गुणगान मात्रै गाउने ?’
उहाँले १४ औं महाधिवेशनबाट पार्टीलाई सुधार गरेर जानुपर्ने बताउनुभयो। जिम्मेवार नेताको हातमा नेतृत्व पुर्याउन उहाँले आग्रह गर्नुभएको छ । काम गर्न सक्ने नेताहरू अब अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो। उहाँले असफल नेताहरूलाई अब नेतृत्वमा पुर्याउन नहुने पनि बताउनुभयो। रातोपाटीबाट