
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूले मन्त्रिमण्डलमा भाग नमागेको बताउनुभएको छ ।सर्वोच्च अदालत बार एसोसिएनसका पदाधिकारीसँगको भेटमा प्रधानन्यायाधीश जबराले मन्त्रिमण्डल भागबन्डामा आफ्नो कुनै भूमिका नरहेको बताउनुभयो ।
प्रधानन्यायाधीशले भाग मागेपछि मन्त्रिमण्डल विस्तार हुन नसकेको समाचारहरु आएपछि सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहित पदाधिकारीले आज बिहान प्रधानन्यायाधीश जबरालाई भेटेका थिए । भेटमा मन्त्रिमण्डलमा भागबन्डाबारे जिज्ञासा राखेको अध्यक्ष शाक्यले बताउनुभयो ।
“उहाँले मैले यस्तो काम गरेको छैन । अहिलेसम्म संविधान र न्यायापालिकाको मैले बचाउ नै गरेको हो । यसमा असर पर्ने कामहरु गरेको छैन । मन्त्रिमण्डलमा को राख्ने नराख्ने प्रधानमन्त्रीको जिम्मेवारीको कुरा हो । मेरो कुनै भूमिका हुँदैन । मैले केही भनेको पनि छैन,” प्रधानन्यायाधीश जबराको भनाइ उद्धृत गर्दै शाक्यले भन्नुभयो ।आफूहरुले त्यहीँ किसिमको स्टेटमेन्ट आउनुपर्ने सुझाव दिएको शाक्यले बताउनुभयो । “औपचारिक वक्तव्य आएपछि हामी थप अगाडि बढ्छौं,” उहाँले भन्नुभयो । नागरिक खबरबाट