
सप्तरी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आगामी चुनावमा जनता समाजवादी पार्टी (जसपा) सँग गठबन्धन नगरिने बताउनुभएको छ ।
सोमबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उनले जसपाले मधेशलाई विभाजन गर्ने, कमजोर बनाउने र खण्डित गर्ने काम गरेको भन्दै आगामी निर्वाचनमा गठबन्धन गर्न नसकिने बताउनुभएको हो । ‘हामी एकता गरेर बलियो पार्न खोज्यौं । उपेन्द्रजीहरुले निर्वाचन आयोगमा गएर फुटाइदिनुभयो’ महतोले भन्नुभयो, ‘त्यसैले चुनावी तालमेल गर्न गाह्रो हुन्छ ।’
यसअघि २०७४ सालमा भएको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरम र तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बीच गठबन्धन भएको थियो । वरिष्ठ नेता महतोले जसपाबाहेकको अन्य लोकतान्त्रिक पार्टीसँग तालमेल हुन सक्ने बताउनुभयो ।
सरकारमा जाने सम्भावना छैन : अध्यक्ष ठाकुर
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरु तत्काल सरकारमा जाने सम्भावना नभएको बताउनुभएको छ । अध्यक्ष ठाकुरले सरकारमा सहभागी हुन कुनै अफर नआएको र आफूहरुले पनि माग नगरेको बताउनुभयो । ‘हाम्रो प्राथमिकता माग र मुद्दा हो’ उहाँले भन्नुभयो, ‘हामीले हाम्रो मुद्दाको सम्बोधन होस् भन्न चाहेका हौं ।’
तत्कालिन नेकपाको बहुमत सरकार आफ्नै पार्टीका कारण ढलेको र अहिलेको गठबन्धन सरकारमा पनि विवाद शुरु भएको अध्यक्ष ठाकुरले बताउनुभयो । ‘एमसीसीलाई लिएर तथा मन्त्रिपरिषदमा भागबण्डालाई लिएर विवाद शुरु भएको छ’ ठाकुरले भन्नुभयो, ‘सबै खेल सत्ताकै लागि भइरहेको छ । हामी भने मुद्दा सम्बोधनको पक्षमा छौं ।’ अनलाइनखबरबाट