ठगी आरोपमा सिभिल ग्रुपका अध्यक्ष तामाङसहित १२ जना पक्राउ

काठमाडौँ । सिभिल बैंकका अध्यक्ष तथा व्यापारी इच्छाराज तामाङ ठगी आरोपमा पक्राउ परेका छन् । सिभिल ग्रुपका अध्यक्षसमेत रहेका तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार साँझ सुन्धाराबाट पक्राउ गरेको हो । उनी दोस्रो संविधानसभामा एमालेका तर्फबाट सभासद थिए ।

ब्युरोका प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार ४६ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा तामाङविरुद्ध ७५ जनाले उजुरी दिएका थिए । बाँकी ४५ जना पनि मंगलबार तामाङविरुद्ध उजुरी लिएर ब्युरो जाने तयारीमा रहेको पीडित एक बचतकर्ताले जानकारी दिए । त्यसकै आधारमा तामाङलाई पक्राउ गरिएको डीआईजी सिंहले बताउनुभयो ।

२०५५र५६ ताका तामाङले आफू अध्यक्ष रहेको सिभिल सहकारी खोलेका थिए । करिब १० वर्षसम्म उनी सहकारीको अध्यक्षमा बसे । त्यसक्रममा उनी सहकारीको अध्यक्ष र लोन शाखा प्रमुख बनेका थिए । यसबीचमा तामाङले सिभिल ग्रुपमार्फत हाउजिङ र जग्गा कारोबारलगायतका कम्पनी पनि खोलेका छन् । त्यसका लागि आफ्नै सहकारीबाट ऋण लिए । जग्गा धितो राखेर ऋण लिए पनि धितो राखिएकै जग्गामा कानुनविपरीत घर बनाएर बेचेको आरोप पनि उनीमाथि छ । सिभिल सहकारीका पूर्वअध्यक्ष तामाङ, अध्यक्ष केशवलाल श्रेष्ठसहित १२ जनालाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

सिभिल सहकारीबाटै ऋण लिएर सिभिल होम्सअन्तर्गत करिब १ हजार १ सय घर बनाएर बेचेको तर सहकारीको ऋण तिर्न नमानेको आरोप छ । २०६७ मा सिभिल बैंक स्थापना भएपछि उनी बैंकको अध्यक्ष बने । त्यसपछि सहकारीको नेतृत्व नातामा मामाससुरा पर्ने केशवलाल श्रेष्ठलाई सुम्पिए । श्रेष्ठलाई सहकारीको लोन शाखा प्रमुख पनि बनाइयो । निकट व्यक्तिलाई लोन शाखामा राखेर उनले आफूले भनेअनुसार रकम लेनदेन गर्न सहज बनाएका थिए । तर, सहकारीका बचतकर्ताको रकम हिनामिना हुने क्रम रोकिएन ।

रकम हिनामिनापछि सीआईबीमा उजुरी दिनेमध्येका एक डिल्लीप्रसाद भट्टराईका अनुसार सिभिल सहकारीका २२ सयभन्दा बढी बचतकर्ताको ८ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ साँवा र त्यसको ब्याज तामाङले तिर्न बाँकी छ । सहकारीबाट तामाङले मात्रै सिभिल ग्रुपअन्तर्गतका विभिन्न संस्थामा ९० प्रतिशत बढी ऋण लिएको तर बचतकर्ताले पैसा फिर्ता माग्दा नदिएको भट्टराईले बताए । आफूले मात्रै उक्त सहकारीमा ८३ लाख रुपैयाँ जम्मा गरेको उनले बताए । ‘बैंकमा भन्दा सहकारीमा केही बढी ब्याज दिने लोभ देखाइयो, त्यसपछि बैंकमा भएको रकम झिकेर उता जम्मा गर्‍यौं तर अहिले आफ्नै पैसा देऊ भन्दा पनि ठगी भयो,’ उनले भने ।

आफूहरू बाध्य भएर ठगीको उजुरी लिई प्रहरीमा पुगेको बताए । ब्युरो प्रमुख सिंहले तामाङले सहकारीको नीतिविपरीत बचतकर्ताको रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउनुभयो। उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान अघि बढाइने सिंहले जानकारी दिनुभयो। सीआईबीको प्रारम्भिक सोधपुछमा तामाङले पीडितलाई रकम फिर्ता गर्ने बताएका छन् तर पक्राउ पुर्जी लिएर आरोपितलाई नियन्त्रणमा लिइसकेको भन्दै ठगीमा अनुसन्धान अघि बढेको र कानुनले नै सबै कुराको छिनोफानो गर्ने ब्युरोले जनाएको छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार