बेनी अस्पतालका चिकित्सक,स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित

म्याग्दी,२० असोज । तलबको माग गर्दै म्याग्दीको बेनी अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु आन्दोलित भएका छन् । तीन महिना देखी आफुहरुले पाउनुपर्ने तलब सुविधा नपाएको भन्दै अस्पतालमा कार्यरत चिकित्सक ,स्वास्थ्यकर्मी र कर्मचारीहरु आन्दोलित भएका हुन् । आन्दोलनका कारण अस्पतालमा इमरजेन्सी शाखा बाहेकका सबै बन्द भएका छन् ।

सेवा अवरुद्ध हुँदा अस्पतालमा उपचार सेवा प्रभावित भएको छ । ६४ शैय्या बराबरको सुविधा दिइरहेको अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प भएको छ । औषधी उपचार र प्रशासनिक काम ठप्प पारेर चिकित्सक ,स्वास्थ्यकर्मी र कर्मचारीहरु आकस्मिक कक्ष अगाडी धर्ना बसेका छन् । बहिरंग ,ल्याब ,आँखा उपचार लगायत औषधी सम्बन्धी सेवाका सकाथै प्रशासनिक काम ठप्प पारेका छन् ।

तीन महिना देखीको तलब भत्ता पठाउन पटक–पटक आग्रह गर्दा पनि प्रशासनले कुनै सुनुवाई नगरेपछि इमरजेन्सी बाहेक सबै सेवा बन्द गर्न बाध्य भएको डाक्टर गोबिन्द पोखरेलले बताउनुभयो । आफुहरुले असार महिना देखी तलब, काम गरेको बापत प्रोत्साहन भत्ता लगायत सेवा सुविधा उपलब्ध गराउन अस्पतला प्रशासनलाई आग्रह गरे पनि वेवास्ता गर्ने गरेको गुनासो पोख्नुभयो ।

चाडपर्व नजिकिंदै गर्दा पनि तीन महिनादेखी रोकिएको तलब भत्ता नपाएपछि आफुहरुले सेवा बन्द गर्न बाध्य भएको डा.दिपेश पण्डितले बताउनुभयो । तलब भत्ता नपाउँदा पारिवारिक समस्या समेत बढेको उहाँले दुखेसो पोख्नुभयो । अस्पतालमा कार्यरत १२४ जना चिकित्सक, स्वास्थ्यकर्मी,कर्मचार लगायत आन्दोलित भएका छन् ।

अस्पतालमा कार्यरत स्थायी र करारमा कार्यरत करिब १२४जना कसैले पनि तलब नपाएको अस्पतालका मेडिकल सुपरीटेण्डन्ट डां जितन्द्र कँडेलले बताउनुभयो । केही समय अघिदेखी तलब नपाउने भएपछि पेन डाउन गर्ने स्वास्थ्यकर्मी र कर्माचारीले दवाब दिएपछि पाँच पटक सम्म सम्झाएर काममा फर्काएको उहाँले बताउनुभयो । अस्पताल व्यवस्थापन समिति र कर्मचारीको बैठक पछि लेखापालले तलब भत्ता उपलब्ध गराउने आश्वासन दिएपनि आनाकानी गरिरहेको उहाँको भनाई छ । समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयले जानकारी गराएको उहाँले बताउनुभयो ।

यता अस्पतालमा सेवा अवरुद्ध हुँदा उपचार गर्न आएका विरामीले सास्ती व्यहोर्नुपरेको छ । जिल्लाको बेनी नगरपालिका –२ बाट आफन्तको आँखाको उपचार गर्न आएपनि आन्दोलनले गर्दा आफुहरुले उपचार नपाएको बताउनुभयो । मुतु रोगबाट पीडित बेनी नगरपालिका–५,भिरमुनीका भक्तबहादुर बानियाँ आन्दोलनको मारमा पर्नुभएको छ । बन्द भएको सेवा खुल्ने आशमा विहान ११ बजेदेखी कुरेर बस्नुभएको छ ।

अन्य जस्तै बेनी नगरपालिका–२ बाट आउनुभएका ज्वरो विरामी अर्जुन किसान अन्दोलनको मारमा पर्नुभयो । अर्जुन किसान जस्तै रघुगंगा गाउँपालिका–३ बाट अस्पतालमा आँखा जचाउन आएपनि आन्दोलनका कारण उपचार नपाएको डम्मरबहादुर कार्कीले बताउनुभयो । ‘आँखा दुखेको चार–पाँच दिन भयो ,घरेलु उपचारले निको नभएपछि बेनी अस्पताल आएको थिएँ,’ उहाँले भन्नुभयो ,‘के कारणले सेवा पाउन सकिरहेको छैन् ।यहाँ उपचार नहुनेभएपछि बाहिरी प्राभेटमा भएपनि जानुप¥यो ।’

मन्त्रालय परिवर्तन हुँदा केही प्राविधिक समस्या हुँदा ढिला भएको हुन सक्ने अस्पतला व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । अस्पतालमा लेखापालको दरबन्दी नभएकोले प्रदेश सरकारले तीन वटा कार्यालय हेर्नेगरी एक जना लेखापाल नारायण सुवेदीलाई पठाएको पठाएको छ । यसअघि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय मातहत रहेको बेनी अस्पताल अहिले स्वास्थ्य मन्त्रालय मातहत छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार