
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले निर्वाचनसम्म संयुक्त सरकार बनाएर अघि बढ्न आग्रह गर्नुभएको छ । बुधबार प्रदेश १ को प्रदेशसभा भवन उद्घाटन गर्दै उहाँले संयुक्त सरकार बनाउन आग्रह गर्नुभएको हो ।
‘आउनुहोस्, सबैको सहमतिको सरकार बनाएर जाउँ, लडाइँ झगडा तछाडमछाड शब्दका वाण यी सबैको के जरुरी पर्यो,’ उहाँले भन्नुभयो, ‘दशैंमा मासु खाएर ठण्डा दिमागले सोच्नुहोस्, दशैंपछि राम्ररी सल्लाह गरेर संसदमा निष्कर्ष निकालौं ।’
उहाँले सरकारले संविधान नमिच्ने बताउनुभयो । ‘संविधान अनुसार यो सरकारले विश्वासको मत लिन्छ,’ उहाँले भन्नुभयो, ‘तपाईंहरु ढुक्क हुनुहोस्, कुनै लडाइँ झगडा, शब्दका तुच्छ वाण जरुरी छैन, २–४ दिन तलमाथि हुन सक्छ तर संविधान मिचिँदैन ।’
२०७४ सालको निर्वाचनको परिणाम मंसिरमा आएपनि सरकार परिवर्तन गर्न फागुनसम्म कुर्नु परेको उल्लेख गर्दै प्रदेश सरकारले विश्वासको मत लिने बताउनुभयो । लडाइँ झगडा भन्दा बाहिर धेरै काम गर्नुपर्ने बताउँदै उहाँले राष्ट्र निर्माण गर्ने सबैको साझा लक्ष्य भएकाले सरकार बनाउन आग्रह गर्नुभयो । ‘तपाईंहरु सबै आउनुहोस्, सरकार बनाएर चुनावसम्म चलाऔं,’ उहाँले अगाडि भन्नुभयो, ‘त्यसपछि जनताले जे म्याण्डेड दिन्छन् आफ्नो बाटो लागौंला ।’ पार्टी केन्द्रमा विभाजन हुँदा सबै क्षेत्रमा विभाजन नहुने भन्दै उहाँले विभाजनको पत्र आएपछि संसदले प्रक्रिया शुरु गरेको बताउनुभयो। अनलाइनखबरबाट