दसैंमा घर जाने यात्रुसँग बढी भाडा लिन खोजेको आरोपमा नौ पक्राउ

काठमाडौँ । काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोजेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंको विभिन्न स्थानबाट नौ जनालाई नियन्त्रणमा लिएको हो।

दसै–तिहार मनाउन घर जानेहरूको चाप बढी हुने हुँदा महाशाखाले विशेष निगरानी तथा अनुगमन टोली बनाएको थियो। ठगी, बढी भाडा लिने, दोब्बर भाडामा टिकट काट्ने लगायतको काम हुन सक्ने भन्दै महाशाखाले उपत्यकामा विशेष टोली परिचालन गरेको थियो।

त्यसअनुसार उपत्यकाबाट बाहिरिने यात्रुहरूसँग बढी भाडा लिने व्यक्तिहरूलाई नियन्त्रणमा लिएको र आवश्यक कारबाही गरिने महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताउनुभयो। पक्राउ परेकाहरूले अनाधिकृत रूपमा विचौलिया बनेर यात्रुसँग मोलमोलाइ गरी तोकिएको भन्दा बढी भाडा असुल गरेको उहाँले बताउनुभयो। उनीहरू टिकट काउन्टरमा आवद्ध भई विना परिचयपत्र अनाधिकृत रूपमा टिकट बेचिरहेको आरोप छ।

सो आरोपमा चितवनका समिर श्रेष्ठ, धनकुटाका किरण लिम्बु र सुनसारीका सविन राई, काठमाडौंका राज ठकुरी, दाङका विशाल गुरूङ र कैलालीका रमेश कठायत पक्राउ परेका हुन्।त्यसैगरी काठमाण्डौंको कलंकीबाट नवीन केसी र बल्खुबाट शुभयात्री काउण्टरमा काम गर्ने निजगढका अरुण मगर र जाजरकोट घर भई किर्तिपुर बस्ने नारायणी काउण्टरका बिनोद रानालाई पक्राउ गरेको हो।उनीहरूमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार