
इलाम । नेकपा एमालेले आउँदो ६ गते जिल्लाका वडा र ९ गते पालिका तहको अधिवेशन आयोजना गर्दैछ। अधिवेशनका लागि सदस्यता नवीकरण र नयाँ कमिटी गठनको तयारी भइरहेको एमालेले जनाएको छ।
अधिवेशनबाट जिल्लाका १० स्थानीय तह, ८१ वटै वडा र २ इलाकास्तरीय कमिटी चयन हुने जिल्ला कमिटी उपसचिव तथा प्रचार विभाग प्रमुख उमेश गुरुङले बताउनुभयो। नेपाल निजामती कर्मचारी संगठन र पेशागत महासंघलाई इलाका कमिटी मानिएको छ। यी कमिटीले पनि आफ्नो नेतृत्व चयन गरी जिल्ला अधिवेशनका लागि प्रतिनिधि छान्नेछन्।
एमाले जिल्ला सचिवालय बैठकले अधिवेशनका लागि मातहत कमिटीलाई विभिन्न निर्णय सर्कुलर गरिसकेको छ। पालिका र वडा कमिटीलाई आउँदो ५ गतेभित्र सबै संगठित सदस्यको आधिकारिक विवरण अद्यावधिक गरी पेश गर्न निर्देशन गरिएको गुरुङले बताउनुभयो । वडा कमिटी अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिवसहित ३१ सदस्यीय हुनेछ। एकतिहाई सदस्य महिला हुनेछन्। पालिका तथा वडामा पदाधिकारी र ९० प्रतिशत सदस्य निर्वाचित हुनेछन्। १० प्रतिशत सदस्य निर्वाचित कमिटीले मनोनित गर्नेछ। ‘मनोनित १० प्रतिशत सदस्य समावेशी प्रतिनिधित्व सुनिश्चितताका लागि हुनेछ,’ गुरुङले भन्नुभयो।
संगठित सदस्यका आधारमा वडाबाट कम्तीमा १० प्रतिशत प्रतिनिधि पालिका अधिवेशनका लागि चुनिनेछन्। गुरुङले भन्नुभयो, ‘संगठित सदस्यको संख्याका आधारमा प्रतिनिधि छनौट गर्न जिल्ला कमिटीले पालिका कमिटीलाई जिम्मेवारी दिएको छ।’ यी प्रतिनिधिले पालिका कमिटी निर्वाचित गर्नेछन्। जिल्लामा एमालेका १२ हजार हाराहारी संगठित सदस्य रहेको पार्टीले जनाएको छ। हरेक ३ वर्षमा एमालेका विभिन्न तहको अधिवेशन हुन्छ। पार्टी महाधिवेशनपछि जिल्ला अधिवेशनको मिति तोकिने एमालेले जनाएको छ। nagariknews.nagariknetwork.बाट