मुख्यमन्त्री अल्पमतमा : बागमती प्रदेशसभा बैठकमा एमाले उपस्थित नहुने

मकवानपुर । बागमती प्रदेशसभाको आज बस्ने बैठकमा नेकपा एमाले उपस्थित नहुने भएको छ । एमालेको वडा र पालिका अधिवेशनको तयारी सांसदहरू व्यस्त हुने भएकाले आज बस्ने प्रदेशसभाको बैठकमा एमाले उपस्थित नहुने भएको हो ।

एमालेले बैठक सार्न हिजो बुधबार नै प्रदेशसभा सचिवालयमा लिखित रूपमा पत्रसमेत दर्ता गराइसकेको छ । बुधबार नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दीपक निरौलाले पार्टीको वडा र पालिका अधिवेशनको सम्पन्न गर्नुपर्ने भएकाले सो कार्यका लागि समय माग गर्दै बैठक सार्न सभामुखसमक्ष लिखित रूपमा पत्र पठाएको हो ।

​एमालेको १० औँ महाधिवेशन बैठक अन्तर्गत आगामी कात्तिक ६ वडा र ९ गते पालिका अधिवेशनको तयारी सांसदहरू लाग्नुपर्ने भएकाले प्रदेशसभा बैठकमा उपस्थित नहुने प्रमुख सचेतक निरौलाले बताए । ‘सभामुखज्यूले प्रदेशसभा बैठक राख्नु हुन्न भन्ने हाम्रो विश्वास हो, यदि प्रदेशसभा बैठक राखियो भने पनि हामी उपस्थित हुँदैनौ ।’ उनले भने ।

नेकपा एमालेका प्रत्येक सांसद पार्टीको कुनै न कुनै पदमा आबद्ध रहेका छन् । उनीहरूको भूमिका पार्टीको वडा र पालिका अधिवेशनमा महत्त्वपूर्ण भूमिका रहने भएकाले प्रदेशसभा बैठकमा उपस्थित हुनुपर्ने भएकाले बैठकमा उपस्थित हुन नसक्ने उनले बताए । प्रदेशसभा बैठक आगामी कात्तिक ११ गतेसम्मको लागि सार्न एमालेले प्रस्ताव गरेको थियो । हालसम्म प्रदेशसभा स्थगित बारे प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले कुनै औपचारिक निर्णय गरेका छैन ।

प्रदेशसभा बैठकमा सहभागी हुन अन्य दलका सांसदहरु हेटौँडा आउने क्रम जारी रहेको छ । गत असोज २४ गते बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव संसद्मा पेस गरेकी थिइन् । आज दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत सम्बन्धी प्रस्ताव बारे छलफल र मत विभाजन हुने तय भएको थियो । भदौ २ गते नेकपा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी शाक्य नेकपा एमाले विभाजन पछि अल्पमतमा परेकी थिइन् ।

गत भदौ २५ गते एकीकृत समाजवादी पार्टीको आधिकारिकता र आबद्ध सांसदको नामावलीसहितको निर्वाचन आयोगको पत्र प्रदेशसभा सचिवालयमा दर्ता भएसँगै मुख्यमन्त्री शाक्य औपचारिक रूपमा अल्पमतमा थिएन ।५६ जना सांसदका साथ प्रदेश सरकारको सत्तारोहण गरेकी मुख्यमन्त्री शाक्यलाई एमाले विभाजनपछि भने ४३ जना सांसदको मात्र समर्थन रहेको छ । नेकपा एमालेका १३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि एमाले ४३ सांसदमा खुम्चिएको हो ।

बागमती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्यहरू मध्ये प्रदेश सरकार टिकाउन वा गठनको लागि ५५ सांसदको साथ आवश्यकता पर्दछ । प्रदेशसभामा २३ जना नेकपा माओवादी केन्द्र, २२ जना नेपाली काँग्रेस, ३ जना विवेकशील साझा, २ जना नेमकिपा, २ जना राप्रपा र १ जना जसपाका सांसद छन् ।बागमती प्रदेशमा गठबन्धनको सरकार बन्ने निश्चित छ । गठबन्धनमा आबद्ध माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, काँग्रेस र जसपाका गरी कुल ५८ जना सांसद रहेका छन् । जुन सरकार गठनका लागि स्पष्ट बहुमत हो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार