गणेशमानको परिवारले अब पार्टीको नेतृत्व गर्छ : सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वले परम्परा र मूल्य–मान्यता विपरीत काम गरेकाले पार्टी कमजोर भएको बताउनुभएको छ । बिहीबार धादिङमा भएको काँग्रेस धुनिबेसि नगर समितिको कार्यलय उद्घाटन कार्यक्रममा नेता सिंहले १३ औं महाधिवेशनपछि पार्टीको नेतृत्वले विधि पद्धति र मूल्य–मान्यता पालना गर्न नसक्दा पार्टी कमजोर भएको बताउनुभयो ।

उहाँले विधिसम्मत र संस्थागत रुपमा पार्टीलाई अगाडि बढाउनको लागि सक्षम नेतृत्वको आवश्यकता रहेको समेत बताउनुभयो । पार्टीका सिनियर नेताहरुलाई सम्मान गर्ने तर अवसर पाउँदा पनि काम गर्न नसक्नेलाई नेतृत्व सुम्पिन नहुने उहाँको भनाइ थियो । साथै उनले पार्टीको आसन्न १४ औं महाधिवेशन कुनै पनि हालतमा तोकिएकै मितिमा हुनुपर्ने बताउनुभयो ।

‘महाधिवेशन कुनै पनि हालतमा तोकिएकै मितिमा गर्नुपर्दछ । क्रियाशील सदस्यता विधि र पद्धतिअनुसार वितरण हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘यसअघिको सहमति अनुसार नै पार्टीको अधिवेशन अगाडि बढाउनुपर्दछ । यसमा नेतृत्वले ध्यान दिन जरुरी छ ।’ समयमा अधिवेशन गर्न नसकेको काँग्रेसले कसरी देश विकास गर्न सक्छ भनेर जनताले प्रश्न गर्न सुरु गरिसकेको उहाँको भनाइ छ । पार्टीलाई ठिक ठाँउमा ल्याउनको लागि विधि र पद्धतिको सबैले पालना गर्नुपर्ने सिंहले बताउनुभयो। पार्टी सभापतिको गृह जिल्लामा भएको महाधिवेशन प्रहरीको घेराभित्र भएकाले पार्टीको छवि विग्रीएको उहाँको आरोप छ ।

अधिवेशन हुँदा सबैलाई पद चाहिने तर पदमा पुगिसकेपछि काम गर्न नसक्ने परिपाटी अब सुधार गर्नुपर्ने उहाँले बताउनुभयो। राजनीति सेवाको क्षेत्र भएकाले मेवाको आस गरेर यस क्षेत्रमा लाग्न नहुने सिंहले बताउनुभयो । गणेशमानको परिवारले सँधै त्याग मात्रै गरेको भन्दै अब पार्टीको नेतृत्व पनि गर्ने उहाँले दाबी गर्नुभयो । पार्टीभित्रको ए काँग्रेस, बी काँग्रेस र सी काँग्रेस हटाउनुपर्ने उहाँको धारणा छ ।

जनताको ईच्छा र चाहनाअनुसार काम गर्नसक्ने पार्टीको रुपमा काँग्रेसलाई पुनस्थापित गर्न आफू लागी परेको उहाँले दाबी गर्नुभयो । हरेक आन्दोलनमा आफूले संघर्ष गर्दै आएको भन्दै उहाँले गणेशमानको छोरा भएर मात्र राजनीतिमा नआएको बताउनुभयो । राजनीतिमा प्रवेश गर्न आफ्नो छुट्टै संघर्ष रहेको बताउँदै सिंहले धेरै अवरोधहरूको समाना गर्दै आएको स्मरण गर्नुभयो ।अरु क्षेत्रमा असफल भएर आफू राजनीतिमा आएको व्यक्ति नभएको उहाँले स्पष्ट पार्नुभयो । अब जनताले चाहेको आर्थिक सम्पन्नताको अभियानमा पनि काँग्रेसले नै नेतृत्व गर्ने र त्यसका लागि ठीक नेताको आवश्यक रहेको उहाँको जिकिर छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार